• २९ कात्तिक २०८२, शनिबार

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको दोस्रो जित

blog

फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक २९ गते । भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हरायो । यसअघि पहिलो खेलमा श्रीलङ्कालाई हराएको नेपालले दोस्रो खलमा भारतसँग हार खेपेको थियो । 

जितका लागि अस्ट्रेलियाले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले १४.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विनिता सोमाईले अविजित ५६ रन बनाउनुभयो । यस्तै मनकेशी चौधरीले अविजित ४३ र सुस्मा तामाङले २२ रन बनाउनुभयो । 

बलिङमा अस्ट्रेलियाकी कोर्टनी लुइसले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि कोर्टनी लुइसले ३१, जेनिफर पेरीले ३० र अमेलिया हर्टले २१ रन बनाउनुभयो । बलिङमा नेपालकी सुनिता भुजेलले एक विकेट लिनुभयो ।

अस्ट्रेलियाका पाँच खेलाडी रन आउट भएका थिए । जितसँगै तीन खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । अस्ट्रेलिया पाँचौँ स्थानमा छ  ।