• २९ कात्तिक २०८२, शनिबार

पर्यटक आकर्षित गर्दै छथरको ध्वजे डाँडा

blog

फोटो सूर्योदय सहित बिहानको मनोरम दृष्य अबलोकनको लागि ध्वजे डाँडा बहुसांस्कृतिक पार्क पुगेका पर्यटक ।

कविराज घिमिरे

हिले, कात्तिक, २९ गते । धनकुटाको छथर जोरपाटी गाउँपालिका दुईमा रहेको ध्वजे डाँडा बहुसांस्कृतिक पार्क पर्यटकको रोजाईमा पर्न थालेको छ ।

 पालिकाले सो स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गरे सँगै यहाँ पर्यटक पुग्न थालेका हुन् । मगर जातीले सो स्थानलाई समाधि स्थलको रुपमा प्रयोग गर्दै आएका छन् । 

यो स्थानलाई केही वर्ष अघि सम्म चिहान डाँडाको रुपमा चिनिने गरिन्थ्यो ।दिउसै जोकोही सो स्थान सम्म पुग्न डराउथे । तर अहिले यो स्थानको परिचय एकाएक फेरिएको छ । 


केही वर्ष अघि सम्म चिहाने डाँडाको रुपमा परिचय पाएको यो डाँडा अहिले भने ध्वजे डाँडा पर्यटकीय स्थलको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । 

सूर्योदय र हिमाल हेर्नको लागि धेरै पर्यटकको रोजाइमा यो स्थान पर्ने गरेको हो । काठमाडौँबाट धनकुटा घुम्न आउनु भएका पल्लव पण्डित ध्वजे डाँडा बहुसांस्कृतिक पार्कले आफूलाई लोभ्याएको बताउनु हुन्छ । 

“एकै स्थानबाट बिभिन्न हिमाल, पहाड अरुण उपत्यका सूर्योदय आदि देखन सकिने यो स्थान निक्कै सुन्दर लाग्यो” पण्डित भन्नु हुन्छ । 

करिब २३०० मिटरको उचाइमा रहेको यो स्थान वाट कञ्चनजंघा, मकालु कुम्भकर्ण सहित दुई दर्जन बढी हिमाली चुचुरा देख्न सकिन्छ ।


 त्यस्तै अरुण उपत्यकाको मनोरम दृष्य सहित सूर्योदय सूर्यास्त सहित बिभिन्न पहाडी शृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यस्तै कृषि उत्पादन यहाँको अर्को आकर्षण हो । 

सो क्षेत्र तरकारी उत्पादनको पकेट क्षेत्र हो । बिभिन्न सिजनमा उत्पादन हुन तरकारीले कृषि पर्यटनको सम्भावना बोकेको धनकुटाका सरोज भुजेल बताउनु हुन्छ । 

सो स्थानलाई लक्षित गरि पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीब्र पारिए पछि यो स्थानमा पर्यटकको आकर्षण बढेको हो । 

पाँच वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले डेढ करोड भन्दा बढि खर्च भइसकेको छ । हाल सम्म सो स्थानमा कोशी राजमार्ग वाट डाँडा सम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेटवाल निर्माण गरिएको छ ।


 त्यस्तै डाँडामा लिम्बू जातिको सिलाम साक्मा, मगर जातिको खुर्पेटोको प्रतिमा निर्माण गरिएको छ ।

जोरपाटी बजार नजिकै रहेको यो पार्कलाई बहुसांस्कृतिक पार्कको रुपमा विकास गरिएको र पर्यटकहरूको सहजताको निम्ती भौतिक पूर्वाधारको कामहरू भई रहेको छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष दिपक गुरुङ बताउनु हुन्छ । 

आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको पुल निर्माण गर्ने तयारी गरिएको उहाँको भनाई छ ।