• २९ कात्तिक २०८२, शनिबार

३२ वर्षपछि पुनः विद्यार्थीको रूपमा कक्षामा फर्किनुभयो कार्यपालिका सदस्य परियार 

blog

व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियार ।

अमरराज नहर्की 

तनहुँ, कात्तिक २९ गते । तनहुँको व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार ३२ वर्षपछि पुनः विद्यार्थीको रूपमा कक्षामा फर्किनु भएको छ । 

अध्ययनप्रतिको निरन्तर चाहना र उमेरले सिकाइलाई रोक्दैन भन्ने सकारात्मक सन्देश दिँदै उहाँले स्नातक तहमा भर्ना भएर उच्च शिक्षाको यात्रा अघि बढाउनु भएको हो । 

परियार शुक्रबार व्यास नगरपालिका-१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा भर्ना हुनु भएको हो । 

शिक्षाशास्त्र सङ्कायमा नेपाली मुख्य विषय लिएर प्रथम वर्षमा भर्ना हुनु भएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । 

हड्खलेका अनुसार राजनीतिक जिम्मेवारी, पारिवारिक भूमिका र सामाजिक गतिविधिबाट समय मिलाउँदै उहाँले औपचारिक अध्ययन निरन्तरता दिने निर्णय गर्नु भएको छ । 

दोस्रो कार्यकालसम्म व्यास नगरपालिकाको कार्यपालिका सदस्य हुनु भएकी परियारलाई पुनः विद्यार्थी जीवन सुरु गरेको खबरले स्थानीय तहमा उत्साह जगाएको छ । 

दीर्घ अन्तरालपछि उच्च शिक्षामा फर्कनुलाई परियारले जीवनको अर्को अवसरका रूपमा लिनु भएको छ ।

 परियारले भन्नुभयो, “पढाइ कहिल्यै ढिलो हुँदैन सिक्ने कुरा जीवन रहेसम्म हुन्छ ।” उहाँले उमेर र दायित्वले सिकाइलाई अवरुद्ध नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

 २०५० सालमा अध्ययन छोड्नु भएकी परियारले व्यास नगरपालिका-२ स्थित बालमन्दिर माध्यमिक विद्यालयबाट नेपाली विषय समूहमा कक्षा १२ उत्तीर्ण गरेपछि विश्वविद्यालय तहमा अध्ययन गर्ने आँकाक्षा अझ बलियो बनेको बताउनुभयो । 

सार्वजनिक जिम्मेवारीसँगै शैक्षिक उन्नतिलाई जोड्न खोजेको उहाँको प्रयास स्थानीय समुदायका लागि प्रेरणादायी बनेको क्याम्पस प्रमुख हड्खले बताउनुहुन्छ ।