अनिल पराजुली
हेटौँडा, कात्तिक २९ गते। मकवानपुरको फाँटमा तोरी फुलेर खेत पहेँलपुर भएको छ। जिल्लाको हेटौँडा, हटिया, हर्नामाडी, पदमपोखरी, भीमफेदीको सुपिङ, बकैया, बागमती, मनहरी, मकवानपुरगढी लगायतका क्षेत्रका खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो।
खुलेको निलो आकाश, फाँटभरि पहेँलो तोरी, तोरीसँगै भुनभुन गरिरहेको माहुरी यो दृश्यले सबैलाई प्रफुल्लित तुल्याएको छ। सिरसिरे हावासँगै तोरीको फुलको सुगन्धले मुग्ध बनाएको छ अहिले गाउँघर।
तोरी फुलेपछि खेतको दृश्य निकै मनमोहक देखिएको छ। यसै गरी, तोरीको फुलले माहुरीलाई आकर्षित गरिरहेको छ। तोरीको एउटा फुलबाट अर्को फुलमा डुल्दै माहुरीले रस चुसिरहेको दृश्यले पनि मनै लोभ्याउने गरेको छ। माहुरीले तोरीको रस चुसेर परागसेचन प्रक्रियामा ठुलो सहयोग गर्ने गर्दछन्।
पछिल्लो समय विषादीको प्रयोगले गर्दा फुलमा आउने मौरीको तादात भने घटेको छ। हेटौँडाको हटिया, हर्नामाडी क्षेत्रको फाँटमा मौरी पालक किसानले मौरी चरनका लागि ल्याउने गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरी खेती कम भएको किसान नारायण घिमिरेको भनाइ छ। पछिल्लो समय सहरीकरण सँगै खेतहरू प्लटिङ हुने र खेती योग्य जग्गा घट्दै गएको छ।