राजन रावत
हुम्ला, कात्तिक २९ गते । आगामी फागुन २१ गते हुन लागेको संसदीय निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदान स्थल तथा मतदान केन्द्र थपका लागि जिल्ला स्तरीय समितिले सिफारिस गर्ने निर्णय गरेको छ ।
मतादाता सङ्ख्या बढी र तीन घण्टासम्म हिडेर मतदान गर्नुपर्ने भएपछि समितिले मतदान स्थल तथ मतदान केन्द्र थपका लागि जिल्लाबाट सिफारिस गर्ने निर्णय गरिएको हो ।
दुई वटा मतदान स्थल थपका लागि शुक्रबार बसेको जिल्ला स्तरीय मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ समितिको बैठक निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमबहादुर रोकायाले बताउनुभयो ।
मतदाता सङ्ख्या बढी र मतदान स्थलसम्म पुग्न तीन घण्टासम्म पैदल हिँड्नु पर्ने भएपछि जिल्लाबाट ती मतदान स्थल थप गर्नका लागि आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।
हाल कायम रहेका मतदान स्थल बाहेक थप गर्नका लागि सिफारिस गरिएका मतदान स्थलहरुमा चङ्खेली गाउँपालिका–२ को महादेव मावि दार्म मतदान केन्द्रबाट छुट्याएर देबकोटा बाडा र भट्टेबाडाका मतदाताका लागि महाकति लक्ष्मी आवि नयाँ मतदान स्थल कायम गर्न सिफारिस गरिएको छ ।
त्यसैगरी, नाम्खा गाउँपालिका– १ को ताङ्गिन गाउँका मतदाताका लागि नमोडाछेमु आविलाई नयाँ मतदान स्थलका रुपमा कामय गर्न आयोगलाई सिफारिस गरिएको छ ।
यसअघि उक्त गाउँका मतदाताहरूले बुद्ध आवि हेक्पा मतदान केन्द्रमा मतदान गर्नै आउनु भएको थियो ।
त्यसैगरी एक हजार भन्दा बढी मतदाता भएका मतदान केन्द्रहरुमा मतदान केन्द्र क र ख निर्धारण गर्न पनि समितिको बैठकले सिफारिस गरेको छ ।
यसअघि २०७९ सालको निर्वाचनमा हुम्ला जिल्लामा ५८ वटा मतदान स्थलहरू कामय गरिएका थिए । हुम्ला जिल्लाको मतदाता सङ्ख्या ३३ हजार ३०८ रहेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।