• २८ कात्तिक २०८२, शुक्रबार

डोकोमा सुन्तला बेचेर घर खर्चको जोहो

blog

सुन्तला बेच्नुहुँदै रेसुङ्गा नगरपालिका–६, बालकाटेका तुल्सा नेपाली । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा  
गुल्मी, कात्तिक २८ गते ।
गरिब र विपन्न परिवारले घर खर्च जुटाउन दैनिक रुपमा काम गर्नुपर्ने बाध्यता छ । विशेषगरी ग्रामीण भेगका यी परिवारहरुले आफ्नो घरको खर्चको जोहो गर्न दैनिक रुपमा विभिन्न किसिमका परिश्रम गर्दै आउने गरेका छन् । गरिब र विपन्न समुदायका परिवारमा खाद्यान्नसँगै नुनतेलको खर्च जुटाउन समेत गाह्रो पर्ने देखिन्छ ।

गुल्मीमा एक महिला जसले घर खर्चको जोहो गर्न डोकोमा सुन्तला बोकेर बेच्ने गर्नुहुन्छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–६, बालकाटे स्थायी घर हुनुभएकी ५५ वर्षीय तुल्सा नेपाली घर खर्चको जोहो गर्न डोकोमा सुन्तला बोकेर तम्घास बजार आएको सुनाउनुहुन्छ । घर खर्चको जोहो गर्न समय अनुसार विभिन्न परिश्रम गर्दै आएको भन्दै उहाँले अहिले सुन्तलाको सिजन भएको हुँदा डोकोमा सुन्तला लिएर बिक्रीका लागि हिँडेको बताउनुभयो ।

घर खर्चको जोहो गर्न समयानुसारका विभिन्न काम गर्नुपर्नेछ । तुल्सा तम्घास बजारको लाकुरीमञ्चमा अहिले सुन्तला बिक्री गर्न व्यस्त देखिनुहुन्छ । यो उहाँको बाध्यता हो । उहाँले राम्रोसँग घर खर्च चलाउनका लागि बिहान घरबाट सुन्तला डोकोमा बोकेर हिड्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “आफ्नो बारीमा रहेका झण्डै १५० बोटमा फलेका सुन्तला डोकोमा बोकेर सदरमुकाम तम्घासमा ल्याई बिक्री गर्नुपर्छ ।’’ उहाँले भन्नुभयो, “प्रति किलो १२० मा सुन्तला बिक्री गर्ने गरेतापनि ग्राहकको माग अनुसार कम मूल्यमा बिक्री गरेको छु ।’’ आफ्नो बारी फलेका सुन्तला सकिए भने अन्यत्रबाट पनि खरिद गरिएको उहाँको भनाइ छ ।

ग्राहकहरुले सकेसम्म कम मूल्यमा सुन्तला खरिद गर्न खोज्नुहुन्छ । डोकोमा सुन्तला बोकेर तम्घास बजारमा बेच्ने गरेको उहाँले बताउनुभयो । छोराछोरीलाई पढाउनुका साथै नुनतेलको जोहो गर्न आफूले विगतदेखि नै निकै मेहनत गर्दै आएको तुल्साले बताउनुभयो । उहाँले विगत ३२ वर्षदखि डोकोमा सुन्तला बोकेर बिक्री गर्दै आउनुभएको छ । दैनिक परिश्रम गरेर घरखर्चको जोहो गर्दै आउनुभएको उहाँको परिवारमा श्रीमानसहित चार छोराछोरी हुनुहन्छ । छोराछोरी अध्ययनमा हुनुहुन्छ । सुन्तला बिक्रीबाट कमाएको पैसाले घरखर्चसंगै छोराछोरीको पढाइका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।