• २६ कात्तिक २०८२, बुधबार

बाँकेमा सात हजारभन्दा बढी नयाँ मतदाता थपिए

blog

मतदाता परिचयपत्रका लागि नाम दर्ता गराउन स्थानीयहरु निर्वाचन कार्यालयमा । तस्बिरः सिराज खान

सिराज खान  

नेपालगन्ज, कात्तिक २६ गते । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । 

कात्तिक मसान्तसम्म मात्र गरिने नयाँ नाम दर्ताका लागि अहिले बाँके जिल्लामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । सोही कारणले हालसम्म जिल्लामा सात हजारभन्दा बढी मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराइसक्नु भएको छ । 

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार अहिले दैनिक ३०० देखि ४०० जनासम्म नयाँ मतदाता नामावली दर्ताका लागि कार्यालयमा आउने गरेका छन् । 

उहाँले कात्तिक २५ गतेसम्म बाँकेमा सात हजार ८९ जना नयाँ मतदाता थपिएको जनाउँदै तीमध्ये पुरुष चार हजार ५५४ र महिला तीन हजार ५३४ जना रहेको बताउनुभयो । उहाँका अनुसार अधिकांश मतदाता नवयुवा छन् । १८ देखि २५ वर्ष उमेर समूहका नयाँ मतदाता बढी थपिएका छन् ।

मतदाता नामावलीका लागि नाम दर्ता गराउन निर्वाचन कार्यालय पुगेका नेपालगन्जका २४ वर्षीय समद खानले आगामी निर्वाचनमा मतदान गर्न आतुर रहेको बताउनुभयो । मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै केही आशा देखिएकाले पहिलो पटक मतदान गर्न आफूले मतदाता नामावलीमा नाम दर्ता गराएको उहाँले बताउनुभयो । 

खजुराकी २० वर्षीया रितु थापा पनि मतदाता नामावलीमा नाम दर्ता गराउँदा उत्साहित देखिनुहुन्छ । देशको विकास गर्ने प्रतिनिधिलाई मतदान गर्न आफूले नाम दर्ता गराएको उहाँले बताउनुभयो । 

बाँकेमा २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४ जना मतदाता थिए । त्यसमा एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र अन्य ९ जना थिए । निर्वाचन कार्यालयमा अहिले नयाँ मतदाता नामवलीमा नाम दर्ता गर्ने, त्रुटि सच्याउने, ठाउँसारी गर्ने लगायतका कामहरू भइरहेको कार्यालय प्रमुख शाहीले बताउनुभयो ।