• २७ कात्तिक २०८२, बिहिबार

बाजुरामा धान उत्पादनमा वृद्धि

blog

बाजुरामा उत्पादन हुने गरेको उन्नत जातको धानखेती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, कात्तिक २६ गते । बाजुरामा धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा ७५८ मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो । 

गत वर्षमा १७ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको थियो । यो आर्थिक वर्ष त्यसमा वृद्धि भएर १८ हजार २५८ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षभन्दा यो वर्षमा ७५८ मेट्रिक टनले बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । 

आर्थिक वर्ष २०८०-०८१ को मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो । विगत ती दुइ वर्ष यताको तुलना गर्दा यो आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला यहाँका किसानले पुरानो जातको धान लगाउने गर्थे । त्यसमा खेती बढी गरेपनि उत्पादन कम हुन्थ्यो । अहिले  यहाँका किसानलाई रामधान,जुम्ली, सावित्री, हिमाली धान,खुमल जस्ता उत्पादन बढी हुने उन्नत  जातको धान उत्प्रेरित गर्दै आएपछि बल्ल यहाँ धान उत्पादनमा वृद्धि भएको छ ।”

बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक खापर, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका लगायत विभिन्न स्थानमा धान खेती हुने गर्छ । यहाँका किसानले चैत वैशाखमा पाखो र जेठ असारमा धान रोपाइँ गर्ने गर्छन् । 

बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य छ । यहाँ ६ हजार ९१५ हेक्टर जमिनमा मात्र धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने  १.९ मे टन–हेक्टर धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहनीले बताउनुभयो ।