लीलाधर वली
घोराही, कात्तिक २६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेपछि किसान खुसी भएका छन् ।
गढवा गाउँपालिकाको समन्वयमा खाद्यले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खाद्यले धान खरिद गर्दा खुसी भएको गढवा गाउँपालिका–४ रामनगर निवासी किसान रामनिवास यादव बताउनुहुन्छ । रामनिवासले सरकारले तोकेको प्रतिक्विन्टल तीन हजार चार सय ६३ रुपियाँ ८१ पैसाका दरले ४० क्विन्टल धान बिक्री गरेको बताउनुभयो ।
गाउँमा व्यापारीले २५ सय रुपियाँ प्रति क्विन्टल धान मागी रहेको समयमा खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दा श्रमको मूल्य उठ्ने अवस्था रहेको भन्दै उहाँले भन्नुभयो, ‘‘सरकारले तोकेकै मूल्यमा धान बिक्री गर्न पाउँदा खुसी लागेको छ ।’’ किसानको बिक्री गर्ने धान धेरै भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र गढवा गाउँपालिकाको सहमति अनुसार प्रति किसान बढीमा ४० क्विन्टलसम्म धान खरिद गर्ने सहमति भएको छ । त्यही अनुसार खाद्यले किसानको धान खरिद गरिरहेको छ ।
सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाउँदा रामनिवास जस्तै सोही ठाउँ निवासी तुलसीराम यादव पनि खुसी हुनुहुन्छ । खाद्यले गाउँमै आएर सरकारले तोकेकै मूल्यमा धान खरिद गरिदिँदा खुसी लागेको भन्दै तुलसीरामले भन्नुभयो, ‘‘व्यापारीलाई धान दिँदा खेतीमा लागेको श्रमको मूल्य पनि उठ्ने अवस्था हुँदैन तर खाद्यले धान लगिदिँदा साना किसानलाई फाइदा भएको छ ।’’ उहाँले ३५ क्विन्टल धान खाद्यलाई बिक्री गरेको बताउनुभयो ।
किसानले उत्पादन गरेको धान बिक्रीका लागि गाउँपालिकाले सहजीकरण गरेपनि केन्द्रबाटै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई निश्चित कोटा निर्धारण गरिदिँदा धान बिक्रीका लागि किसानलाई समस्या भएको गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी बताउनुहुन्छ । खाद्य कम्पनीलाई निश्चित कोटा मात्र निर्धारण भएकाले किसानले उत्पादन गरेको सबै धान खरिद गर्न समस्या भइरहेको भन्दै उपाध्यक्ष चौधरीले भन्नुभयो, ‘‘किसानले उत्पादन गरेको सबै धान खरिदका लागि व्यवस्था गरिदिन आग्रह गरिरहेका छौँ । तर खाद्यले निश्चित कोटाका कारण एक किसानबाट बढीमा ४० क्विन्टल मात्र धान खरिद गर्न सक्ने भन्छ ।’’
उपाध्यक्ष चौधरीले गढवामै किसानले करिब १५ देखि १६ हजार क्विन्टल धान उत्पादन गर्ने गरे पनि खाद्यले यो वर्ष दुई हजार क्विन्टल मात्र धान खरिद गर्ने बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरकी शाखा प्रमुख तुलामाया लोवाले कोटा प्रणालीका कारण जिल्लामा धान खरिदका लागि समस्या भएको बताउनुभयो । खाद्यले देउखुरीका तीन पालिकाबाट धान खरिद गर्न थालेको भन्दै प्रमुख लोवाले भन्नुभयो,‘‘खाद्यले बढी मूल्य दिने भएका कारण सबै किसानलाई धान बिक्री गर्न पाए हुन्थ्यो भन्ने छ तर निश्चित कोटाका सवैको किसानको धान खरिद गर्न सक्ने अवस्था छैन ।’’
केन्द्रले दिएको पाँच हजार कोटा अनुसार गढवा गाउँपालिकाबाट दुई हजार क्विन्टल, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट १५÷१५ सय क्विन्टलका दरले धान खरिद गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार दुई दिनमा खाद्यले गढवाबाट पाँच सय ५७ क्विन्टल धान खरिद गरेको छ । जसअनुसार पहिलो दिन एक सय ७० क्विन्टल र दोस्राे दिन तीन सय ५७ क्विन्टल धान खरिद गरेको हो ।