गुणबहादुर रोका
सुलीकोट, कात्तिक २६ गते । गोरखाको सहिद लखन गाउँपालिका–१ अवस्थित सिद्ध लखन भ्यू टावर पर्यटकिय गन्त्वयको रुपमा परिचित हुँदै गएको छ । नेपालको प्रथम सहिद लखन थापाको जन्म थलो सिद्ध लखन भ्यू टावरबाट गोरखाका अधिकांश भूभागसँगै तनहुँ, चितवन र धादिङका सुन्दर भू–दृश्य पनि स्पस्ट देखिने भएकाले पर्यटकिय गन्त्वयको रुपमा विकास हुँदै गएको हो ।
समुद्री सतहबाट झण्डै १ हजार ६ सय मिटर उचाइमा अवस्थित सिद्ध लखन भ्यू टावरबाट मौसम खुला हुदाँ टावरबाट मनोहर हिमशृङ्खलादेखि लेक र तराईका हरियाली मैदानसम्मका दृश्यले जो कोहीको पनि मन लोभ्याउँछ ।
सिद्ध लखन भ्यू टावर प्राकृतिक सुन्दरताको मात्र केन्द्र होइन, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले भन्नुभयो, ‘यो टावर ऐतिहासिक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण स्थलका परिचित भएकाले पालिकाको नामसँग जोडिएको यो स्थान इतिहासमा देशका वीर योद्धा लखन थापा मगरको सम्झनामा बनाइएको यो टावरले धेरै पर्यटको मन खिचेको छ ।’
सिद्ध लखन भ्यू टावर पुग्ने आन्तरिक तथा बाह्रय पर्यटकहरुले प्राकृतिक सौन्दर्यसँगै देश भक्तिको भावनाले भरिपूर्ण सहिद लखन गाउँपालिकाको काउँले भङगारमा सहिद लखन थापा मगरको सालिक र भ्यू टावरले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
सहिद लखन गाउँपालिकाले भ्यू टावर परिसरमा आवश्यक पूर्वाधार निर्माण पदमार्ग सुधार र विश्राम स्थलको व्यवस्थापन गर्दै पर्यटकको सहज आवागमनका लागि सडक विस्तार र सूचना पाटीहरु पनि राखिदिएको छ भने गाउँपालिकाले भ्यु टावरलाई स्थायी पर्यटन गन्त्वयका रुपमा विकास गर्ने योजना अघि सारेको छ ।
भ्यू टावर नजिक होमस्टे, रेष्टुरेन्ट र अवलोकन स्थल विस्तार हुँदै गएपछि विभिन्न जिल्लाबाट विद्यार्थी, अनुसन्धानकर्ता, तस्बिरप्रेमी र धार्मिक पर्यटक यहाँ पुग्ने गरेका छन् । भ्यू टावरमा पुगेका पर्यटकहरुले गोरखाको पहाडी जीवन, परम्परागत बस्ती र प्राकृतिक सौन्दर्यको अनुपम अनुभव लिने गर्छन् ।
"सिद्ध लखन भ्यू टावर गोरखाको गौरव हो", अध्यक्ष थापा मगरले भन्नुभयो, "यसको प्रचारप्रसार र व्यवस्थापन सुदृढ बनाएर यसलाई राष्ट्रिय स्तरको पर्यटकीय गन्त्वय बनाउने पालिकाको लक्ष्य छ।"
प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र स्थानीय आतिथ्यको सङ्गम बनेको सिद्ध लखन भ्युटावर अहिले गोरखाको पहिचानकै प्रतीक बन्दै गएको छ । यहाँ पुग्ने जो कोहीले पनि “गोरखा साँच्चै रमणीय छ” भन्ने अनुभूति लिएर फर्किन्छन् ।