• २६ कात्तिक २०८२, बुधबार

घारमै मर्न थालेपछि माैरीपालक चिन्तित

blog

मौरी मरेपछि खाली भएको हिमाली गाउँपालिका-६ पाडीको नरजित रावलका मुडेघार । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, कात्तिक २६ गते । चिसोको बेला धमाधम मौरी मर्न थालेपछि हिमाली गाउँपालिका-६ पाँडीका मौरीपालक चिन्तित बनेका छन् । केही मौरी चिसोको कारण मर्ने र केही मौरी बाहिरदेखि आएको ढोर मौरीले लडाइँ गर्ने गरेकोले घार देखि मौरी मर्ने बाहिर जाने गरेपछि पाडीका मौरीपालक चिन्तित बन्दै गएका हुन् । 

पाडीका अधिकांश परिवारले मौरी पालन गर्ने गरेका छन् । मौरीकै भरमा हामीले आफ्नो जीविको पार्जन गर्छन् । त्यो मौरी सबै मर्न थालेपछि अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता परेको हिमाली गाउँपालिका-६ पाँडीका नरजित रावलले बताउनुभयो । 

उहाँले भन्नभुयो, “म मौरीपालन गर्दै आएएको झण्डै साठी वर्ष भयो । यो भदा पहिला मेरो मौरी केही पनि मर्ने गरेका थिएनन् । यस्तो हुँदैन पनि थियो । यो वर्षमा भने मेरो झण्डै १५० मौरीको घार सबै खाली भएका छन् ।”

"पाँडीको मह एक दमै राम्रो सफा र अर्गानिक हुन्छ । यो स्वास्थ्यको लागि पनि निकै उपयोगि हुने गरेकोले जिल्लाका विभिन्न ठाउँ देखि मह राखी दिनु भनेर मलाई पहिला नै पैसा पठाउने गरेका थिए," उहाँले भन्नुभयाे । यती बेला मह निकाल्न नपाउँदै सबै मौरी मरेर घार नै खाली भएपछि अब ती ग्राहकले अडर गरेको मह कसरी दिने भन्ने निकै चिन्ता परेको रावलले बताउनुभयो ।

पाडीमा धेरै जनाले मौरी पालन गर्ने गर्छन् । यहाँका नरजित रावल एक उत्कृष्ट मौरी पालक हुन् । उहाँले विगत साठी वर्षदेखि मौरी पालन गर्दै आउनुभएको थियो । उहाँलाई आफैँ पनि मौरीको बारेमा धेरै अनुभाव रहेको बताउनुहुन्छ । 

तर यो वर्षमा भने रावल निकै चिन्तामा हुनुहुन्छ । उहाँको मात्र एक सय पचास भन्दाबढी मौरीको घार खाली भएका छन् । अहिले ती सबै घार खाली हुँदा रावल निकै चिन्तामा हुनुहुन्छ । बाहिरदेखि आएको मौरी जस्तै देखिने त्यसको एक झुडोले मौरी मारिदिने र केही मौरीलाई धपाउने र भित्र रहेको मौरीको मह सबै खाएर त्यसपछि आफू पनि भाग्ने गरेपछि मेरो सबै मौरी घार खाली हुँदै गएको रावलले बताउनुभयो ।

मौरीपालन पाडीको स्थानीयको एक व्यवसाय नै हो । यहाँको मह निकै आर्गानिक हुने गरेकोले देशका विभिन्न ठाउँदेखि पहिला नै महको माग हुने गर्थ्याे । यहाँका स्थानीयले मह पछि र पैसा पहिला हातमा पाउने गरेका थिए ।

यतिबेला यहाँका स्थानीयको मौरी घारमै मर्नथालेपछि उनीहरु निकै चिन्तामा परेका हुन् । अहिले यसको बारेमा उनीहरु विभिन्न विज्ञहरुसँग परामर्श लिने गरेका छन् । यो चिसोमा मौरीलाई पनि दुई तीन प्रकारको रोग लाग्छ । पाडीमा पनि धेरै चिसोे हुन्छ । त्यही चिसोले मौरीमा रोग लागेपछि अनि मौरी मर्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराज साहनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिसोको बेलामा मौरीलाई सक्दो जति धेरै तातो हुनुपर्छ । तातो गरेपछि मौरीलाई रोग लाग्दैन । अनि उनीहरु पनि घारदेखि बाहिर भाग्दैनन् । जुन बाहिरदेखि मौरी आएर मार्ने गरेको भन्ने कुरा छ । त्यो मौरी भनेको ढोर मौरी हो । बाहिरदेखि आएको त्यो ढोर मौरी सबै भाले हो । उनीहरु पोथी मौरीसँग बेसरी लडाइँ गर्ने र घारमा रहेको मह पनि सबै खाने काम गर्छन् । यसको बारेमा प्राय मौरीपालक किसान नै चलाख हुनुपर्छ ।" त्यो मौरी आउने बित्तिकै धपाउने वा घारमा पस्न नदिने गर्नुपर्छ । अरु यसको अन्य केही विकल्प नरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहनीले बताउनुभयो ।