• २६ कात्तिक २०८२, बुधबार

दोस्राे फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

blog

पत्रकार सम्मेलनमार्फत मेलाको विषयमा जानकारी दिँदै आयोजक टिम । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू  

फुङलिङ, कात्तिक २६ गते । दोस्राे फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने भएको छ । मिक्वाखोला गाउँपालिकाको ४ नम्बर वडा थलङ्मा अवस्थित फुङ्फुङगे झरनाको प्रचारप्रसारका लागि मेलाको आयोजना गरिने भएको हो ।

फङ्फङ्देन झरना पर्यटन विकास समिति मूल आयोजक समितिले मङ्गलबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मङ्सिर ७ देखि ११ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फूटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरूको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो ।

उहाँका अनुसार पुरुष फुटबलतर्फको विजेतालाई ३ लाख २ हजार ८२ रुपियाँ र उपविजेतालाई १ लाख ५२ हजार ८२ रुपियाँ बराबरको अलैँची प्रदान गरिनेछ । फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउ अनुसार घोषणा गरिएको रकम बराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ ।

अलैँचीको प्रवर्धनका लागि पुरस्कार स्वरुप अलैँची नै प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूको भनाइ छ । मेलाकै अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा बृहत् साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको सांस्कृतिक व्यवस्थापन उप समितिका संयोजक प्रीति थलङले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय कलाकारको सुनिश्चित हुन बाँकी रहे पनि स्थानीय कलाकारहरू भने तयारीमा जुटिसकेका छन् । मेला सम्पन्न गर्नका लागि कुल साढे १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुकबहादुर साँवा लिम्बूले जानकारी दिनुभयो ।

स्थानीय क्षेत्रमा सञ्चालित हाइड्रोपावर, निर्माण व्यवसायीहरू, स्वदेश तथा विदेशमा रहनुभएका खेलप्रेमी महानुभावबाट आर्थिक सहयोग सङ्कलन गरी मेलाको आयोजना गरिएको उहाँको भनाइ छ । फुङ्फुङगे झरनासहित मिक्वाखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्धनका लागि मेलाको आयोजना गरिएको समितिले जनाएको छ ।

पालिकामा भएका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि गरी स्थानीय नागरिकको आय आर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ मेलालाई निरन्तरता दिइएको बताइएको छ ।