• २६ कात्तिक २०८२, बुधबार

नवलपरासीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

blog

जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता हुँदै । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, कात्तिक २६ गते ।
मतदाता नामावली सङ्कलनका लागि चार दिन मात्र बाँकी रहँदा पश्चिम नवलपरासीमा नाम दर्ता गर्नेको भिड लागेको छ । जिल्ला निर्वाचन कार्यालयले कार्यालय समय बाहेक पनि नाम दर्ता गरिरहेको छ । बिहान ८ बजेबाट सुरु भएको नाम दर्ता कार्य अहिले केहीबेर अगाडि मात्रै सकिएको छ ।

भिड बढेकाले दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी करण चौहानले जानकारी दिनुभयो ।

पछिल्लो चार दिन यता नाम दर्ताको गर्नेको भिड ह्वात्तै बढेको छ ।  आज मात्रै ३ चार पुरुष र ३ सय सात महिलासहित ६ सय १२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हालसम्म १७५४ पुरुष, १३३० महिला र एक जना अन्य गरी तीन हजार ८५ जना नयाँ मतदाता थपिएको चौहानले जानकारी दिनुभयो ।

अहिले सबै कर्मचारी नाम दर्ता गर्न खटिएको तर जनशक्ति कम भएकाले भिडभाड बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुजाता खत्रीले बताउनुभयो । सबै कर्मचारी नामावली सङ्कलनमा खटिएको खत्रीको भनाइ छ ।

फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर असोज १० गतेबाट मतदाता नामावली सङ्कलन सुरु भएको हो । तर सुरुमा नाम दर्ता गर्न नआएका मतदाताहरू अन्तिम समयमा आउँदा भिड बढेको हो । कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ताको समय तोकिएको छ ।

मतदाता नामावली दर्ताका क्रममा जनशक्ति अभाव, प्राविधिक समस्याका कारण सेवाग्राहीले लामो समय कुर्नु परेको गुनासो बढिरहेको छ ।  नवलपरासीमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एक लाख २१ हजार ८६१ पुरुष, एक लाख १९ हजार ६५ महिला र चार जना अन्य गरी कुल दुई लाख ४० हजार ९३० मतदाता रहेका थिए ।