- हिउँदको सुरुवातसँगै चिसोबाट जोगिन भेडीगोठहरूलाई बेँसी झार्न थालियो ।
- चिसो मौसम बढ्दै गएपछि हिमाली क्षेत्रमा घाँस सुक्न थाल्छ ।
- भेडीगोठसँगै गोठालाका परिवार पनि अस्थायी रूपमा बेँसीमा बसाइ सर्ने गरेका छन् ।
गुणबहादुर रोका
सुलीकोट, कात्तिक २६ गते । उत्तरी गोरखाका भेडीपालक किसान र गोठालाले मौसममा फेरबदल आएसंगै हरेक वर्ष चरनचक्र अनुसार भेडा, बाख्रा र चौँरी गोठ बेँसी सार्ने गरेका छन् । गोरखा जिल्लाको उच्च हिमाली चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका भेडापालक किसान हिउँदको सुरुवातसँगै चिसोबाट जोगिन भेडीगोठहरूलाई बेँसी झार्न थालेका छन् ।
सामान्यता असोज र कात्तिक महिनामा हिमालमा हिउँ पर्न सुरु भएपछि चरन क्षेत्र चिसो र हिउँले ढाकिने गर्छन् । त्यसैले त्यहाँका गोठालाले पशुधनलाई तातो क्षेत्र आरूघाट र बारपाक सुलीकोट गाउँपालिकाका क्षेत्रमा झार्ने गरेका छन् । सोही प्रचलन अनुसार यो वर्ष पनि भेडीगोठ सार्ने क्रम सुरु भएको छ ।
जाडो बढेसंगै उत्तरी गोरखाका हिमाली क्षेत्रका किसानको जीवनशैली, रोजगारी र संस्कृतिसँग भेडाबाख्रा र भेडीगोठको गहिरो रूपमा जोडिएको भेडापालक किसान वीरकाजी गुरुङले जानकारी दिनुभयो । गुरुङले भन्नुभयोभयो,“चिसो मौसम बढ्दै गएपछि हिमाली क्षेत्रमा घाँस सुक्न थाल्छ । चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको उपल्लो क्षेत्रमा हिउँ जम्ने भएकाले गोठालाहरूले समयमै गोठ झार्नुपर्ने हुन्छ र बेँसी झरेपछि भेडाबाख्रालाई हरियो घाँस पाइने र पानीको अभाव नहुने भएकाले भेडाबाख्राको स्वास्थ्य पनि राम्रो हुन्छ ।”
भेडीगोठसँगै गोठालाका परिवार पनि अस्थायी रूपमा बेँसीमा बसाइ सर्ने गरेका छन् । अधिकांश गोठालाले न्यायो ठाउँ खोजेर बस्तीनजिक घिउ, चिज र उनी कपडा बुनेर बिक्रीवितरण गर्ने गरेका छन् । यो समय बेँसी झर्ने समय भएकाले आरूघाट र बारपाक सुलीकोटका बाटाघाटामा भेडाबाख्राको लर्को नै लागेको देखिन्छ । पहाडका चरन खाली हुँदै गए पनि बेँसी क्षेत्रका खेत र जङ्गलमा चहलपहल बढेको छ ।
भेडापालक किसानका अनुसार माघ महिनाभरि भेडा, च्याङ्ग्रा बेँसीमा रहन्छन् भने फागुन पहिलो हप्ताबाट फेरि लेकतिर जाने गरेका छन् ।