शिक्षकबिना कक्षाकोठाको शैक्षिक क्रियाकलाप अगाडि बढ्न सक्दैन । हाम्रो परीक्षा प्रणाली पनि यही प्रवचनात्मक शिक्षण प्रणालीको सन्निकट छ । सैद्धान्तिक कुरा मज्जाले घोक्न सक्यो भने मात्रै परीक्षा पास गर्न सकिन्छ । अहिले शिक्षण पद्धतिका नयाँ नयाँ अभ्यास विकसित हुँदै गइरहेका छन् । विभिन्न शिक्षाविद्ले प्रभावकारी शिक्षणका नयाँ नयाँ सूत्र पत्ता लगाइरहेका छन् । उनीहरूले पत्ता मात्रै लगाएका छैनन्, त्यसलाई कार्यान्वयन पनि गरिरहेका छन् ।
विडम्बना हामीले भने हाम्रो परम्परागत शैलीलाई प्रेम गर्न छाडेका छैनौँ । हामी यसैमा अभ्यस्त हुँदै गएका छौँ । हिजो बाबुबाजेले जुन शैलीले शिक्षा हासिल गरे हामीले पनि त्यही शैली अनुसरण ग¥यौँ अनि हामीले जुन शैलीमा अध्ययन ग¥यौँ अहिलेका बालबालिकालाई पनि त्यही शैली पछ्याउन लगाइरहेका छौ । कुनै पनि ज्ञान आर्जन गर्ने शैली समय अनुसार बदलिनु पर्छ । हिजो मान्छे सूचना र ज्ञानले मात्रै विद्वान् कहलिन्थ्यो तर आज आलोचनात्मक र सिर्जनात्मक चेत पनि आवश्यक मानिन्छ । पढेको मान्छेले कहाँ काम गर्न सक्छ र उसले त दिमाग चलाउने भन्ने रूढि मान्यतालाई चिरेर सिप र सिकाइलाई सन्निकट बनाएर अगाडि लैजानु पर्छ ।
हिजोको समाज र आजको समाजका बिचमा कैयौँ परिवर्तन भइसके, नयाँ नयाँ मान्यता स्थापित भइसके तर हामीले शिक्षामा त्यसलाई अझै पनि समावेश गर्न सकिरहेका छैनौँ । आज विद्यालय, पाठ्यपुस्तक र शिक्षक भन्नेबित्तिकै किन विद्यार्थीले रुचि देखाउन छाडेको छ भन्ने बारेमा ख्याल गर्नुपर्ने देखिन्छ । सिकाइ जबसम्म बाध्यता बन्छ, त्यसले विद्यार्थीलाई आकर्षित गर्न सक्दैन तबसम्म यसले लक्ष्य हासिल गर्न सक्दैन । शिक्षालाई हामीले रहर बनाउन सक्नु पर्छ ।
अहिले हाम्रो जीवनशैली प्रविधिमय बन्दै गएको छ । बजारमा सामान किन्नदेखि लिएर विद्युत् पानीसम्मको शुल्क तिर्न प्रविधिको प्रयोग भइरहेको छ । अझ एआईको आगमनसँगै प्रविधिले आफ्नो उपयोगितालाई विस्तारित गर्दै लगेको छ । यसले मानव जीवनलाई सरलतातर्फ दौडाइरहेको छ । प्रविधिको प्रयोग गर्न नजान्ने कुनै पनि मानिस आजको दुनियाँसँग सहज ढङ्गले आफूलाई उभ्याउनसमेत सक्षम हुँदैन । के हाम्रो शिक्षा प्रणालीले यसलाई आत्मसात गरेको छ
त ? हाम्रा विद्यार्थी सानैदेखि प्रविधिको बारेमा अध्ययन गरिहेका छन् त ? प्राविधिक उपकरणसँग परिचित छन् त ? सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ मा कक्षाकोठामा प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्दै लैजाने लक्ष्य लिएको थियो । सोही अनुसार सङ्घ, प्रदेश र स्थानीय तिनै तहको सरकारमार्फत सामुदायिक विद्यालयमा सूचना प्रविधि सामग्री अनुदान दिँदै आएको छ । सूचना प्रविधिको साधन प्राप्त नगरेका नेपालमा कुनै पनि सामुदायिक विद्यालय छैनन् होला । अधिकांश विद्यालयमा व्यवस्थित कम्प्युटर ल्याबका लागि आवश्यक उपकरण प्रदान गरिएको छ तर त्यसको उचित प्रयोग भएको छ या छैन भन्ने प्रश्नकै रूपमा रहेको छ ।
शिक्षा मानव जीवनसँग जोडिएको हुनु पर्छ । यसले हाम्रो जीवनशैलीलाई प्रतिविम्बित गरेको हुन्छ भन्ने मान्यता राखिन्छ । हाम्रा जीवन भोगाइका हरेक कुरासँग जोडिने यस खालको शिक्षालाई व्यावहारिक शिक्षा पनि भनिन्छ । नेपालको शिक्षा व्यवहारभन्दा पनि सिद्धान्त केन्द्रित छ भनेर आलोचनासमेत हुँदै आएको छ । यहाँको ठुलो जनशक्ति विदेश पलायन हुन खोज्नु र यही बसेर केही काम गर्ने प्रयास नगर्नुका पछाडि हामीले अहिलेसम्म अवलम्बन गरिरहेको शिक्षा प्रणाली मूल रूपमा दोषी देखिन्छ । युवा पलायन र शिक्षित बेरोजगारीको विकराल अवस्था आउँदा पनि जिम्मेवार निकायले यसका बारेमा खासै चासो र चिन्ता व्यक्त गरेको देखिँदैन । उनीहरूलाई आफूले अहिलेसम्म गरेको कार्यलाई पुनरवलोकन गर्ने जाँगरसमेत छैन । हामीले प्रदान गर्ने शिक्षाले व्यक्तिको दिमागलाई बलियो बनाउने मात्रै होइन सिप र क्षमताको पनि विकास गर्नु पर्छ ।
विद्यालय तहको शिक्षालाई हेर्ने हो भने अहिले पनि हामीले प्रविधिसँग गतिलो तरिकाले यसलाई जोडेर लैजान सकेका छैनौँ । अहिले पनि यस तहमा अध्यापन गराउने अधिकांश शिक्षकलाई सामान्य कम्प्युटरसमेत चलाउन सक्ने ज्ञान र सिप छैन । विद्यालयमा सूचना प्रविधि सामग्रीको व्यवस्थापन भए पनि त्यसलाई सञ्चालन गर्ने जाँगर देखिँदैन । आजको विद्यार्थीले कक्षाकोठामा किताब पल्टाएर खुरुखुरु शिक्षकले दिएको प्रवचन सुन्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । युट्युबमा संसारको उच्चतम प्रविधिसम्बन्धी भिडियो हेर्ने विद्यार्थीले कक्षाकोठामा शिक्षकको प्रवचन सुन्ने जाँगर कति गर्न सक्छ ? आज विद्यार्थीले खोजेका हरेक कुरा रोचक भिडियोसहित युट्युबमा सहजै भेटिन्छ तर हामीले उही रटानलाई प्राथमिकता दिन छाडेका छैनौँ ।
मानिसले सोचेको भरमा आफूलाई आवश्यक पर्ने सूचना र ज्ञानप्राप्त गर्न सक्ने विश्वमा अहिले पनि कक्षाकोठामा शिक्षकले सिद्धान्तको रटान लगाउनु वस्तुनिष्ठ मान्न सकिँदैन । अझ विद्यार्थीलाई सिर्जनशील बनाउने भन्दा पनि केवल सैद्धान्तिक कुरा सिकाउनमा हाम्रो शिक्षण पद्धति केन्द्रित छ । यस खालको शिक्षण पद्धतिले आजको समयसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने सामथ्र्य हुँदैन ।
केही समयअगाडि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हरेक सामुदायिक विद्यालयमा सूचना प्रविधि विषयसम्बद्ध शिक्षकको दरबन्दी राख्ने बताउनुभयो । अहिलेको समयका लागि यो आवश्यक मात्रै होइन अपरिहार्य नै हो । हाम्रा शैक्षणिक क्रियाकलाप अब सूचना प्रविधिसँग जोडिनु पर्छ । हाम्रा विद्यार्थी अब सूचना र ज्ञान मात्रै होइन कुनै पनि विषयवस्तुका बारेमा विश्लेषण गर्न सक्ने हुनु पर्छ । विद्यार्थीमा त्यो क्षमता वृद्धि गर्न हामीले हाम्रो शिक्षण शैलीलाई बदल्नु पर्छ । विभिन्न समयमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिवर्तन गरे पनि त्यो केवल परम्परागत शैलीको देखिन्छ । अब विद्यार्थीको अभिरुचिलाई सम्बोधन गर्ने हो भने आजको विद्यार्थीले के खोजेको छ त भन्ने बारेमा जानकार हुनु पर्छ ।
आजको विद्यार्थीले संसारका उच्चतम प्रविधिको उपयोग गरिरहेको हुन्छ । आजको कक्षाकोठामा अध्यापन हुने कुरा उसले प्रविधिको उपयोग गरेर सहजै थाहा पाउन सक्छ । एआईको दुनियाँमा अझै पनि हामी कक्षाकोठामा प्रवचन शैलीले अध्यापन गराउनु मनासिव हुँदैन । प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अन्तव्रिर्mयात्मक ढङ्गले अध्यापन गराउनु पर्छ । माध्यमिक तहसम्मको शिक्षाको अधिकार अहिले स्थानीय तहमा छ । यो तह भनेको शिक्षाको जग हाल्ने तह हो । यो तहमा हामीले जुन खालको विद्यार्थी उत्पादन गर्दछौँ सोही अनुसार नै विद्यार्थीको भविष्य अगाडि बढ्ने हो । यस कारण समय सुहाउँदो र तत्काल बजारमा बिक्ने र टिक्ने विद्यार्थी उत्पादनका लागि स्थानीय सरकारले विशेष भूमिका वहन गर्ने अवसर छ ।
हामीले सबै शिक्षकलाई प्रविधिसँग जोड्नु पर्छ । शिक्षणमा प्रविधिको प्रयोगलाई अनिवार्य गर्नु पर्छ । हरेक शिक्षकले प्रविधिसँग जोडेर विद्यार्थीलाई अध्यापन गराउनु पर्छ । यसका साथै राज्यले सूचना प्रविधिको पूर्वाधार विद्यालयमा व्यवस्थापन गर्नु पर्छ । हरेक कुरा डिजिटलमय भएको समयमा हामीले कक्षालाई पनि डिजिटलयुक्त बनाउनु पर्छ । शिक्षालाई प्रभावकारी बनाउने हो भने हामीले अहिलेसम्म हिँडेको बाटोलाई बदल्नु पर्छ । हाम्रा विद्यार्थीमा आलोचनात्मक तथा सिर्जनात्मक चेतको विकास हुने गरी शिक्षा प्रदान गर्नु पर्छ ।