• २४ कात्तिक २०८२, सोमबार

जीवन्तताको प्रतीक मिथिला कला

blog

मिथिला कला, जसलाई मधुबनी कला पनि भनिन्छ । भारत र नेपालको मिथिला क्षेत्रमा प्रचलित एक परम्परागत लोककला हो । यस कला शैलीको नाम भारतको बिहार राज्यको मधुबनी जिल्लाबाट आएको हो, जहाँ यस कलाको उत्पत्ति भएको मानिन्छ । मिथिला कला विशेष गरी मिथिला क्षेत्रका महिलाले घरका पर्खाल, कोठा र मन्दिर सजाउन प्रयोग गर्ने परम्परागत चित्रकला हो, जसले यस क्षेत्रको सांस्कृतिक, धार्मिक र सामाजिक जीवनसँग गहिरो सम्बन्ध राख्छ ।

मिथिला कला वा मधुबनी कला रङ्गीन रेखाचित्रको शैली हो, जसमा प्राकृतिक रङ र रसायनहरू प्रयोग गरिन्छ । यो कला प्रायः हात, ब्रश, कलम वा सुईलाई प्रयोग गरेर बनाइन्छ । यसको चित्रहरूमा ज्यामितीय ढाँचाहरू, देवी–देवताहरू, मिथकीय पात्रहरू, प्रकृति र विवाह, जन्म जस्ता महTवपूर्ण अवसरको चित्रण गरिएको पाइन्छ । यो कला परम्परागत रूपमा महिला कलाकारले घरपरिवारमै सिकेर अगाडि बढाउने कला हो । आजकल मिथिला कला महिला सारी, कागज, ब्याग र कपहरूमा पनि बनाइन्छ । यसले आधुनिक रूप पनि लिएको छ । नेपालमा पनि मधुबनी कला मिथिला क्षेत्रका जनजीवन, धार्मिक र सामाजिक संस्कृतिमा गहिरो रूपमा जोडिएको छ । नेपालका मिथिला क्षेत्रहरू जस्तै धनुषा, महोत्तरी, सप्तरी र सिरहालगायतका ठाउँमा पनि यस कलाको अभ्यास भारी मात्रामा पाइन्छ । यहाँ यो कला महिला सशक्तीकरणको माध्यमसमेत बनेको छ । 

ऐतिहासिक पृष्ठभूमि

मिथिला कलाको इतिहास अत्यन्त प्राचीन छ र यसको आरम्भ मिथिला राज्यबाट भएको मानिन्छ, जुन अहिलेको नेपालको जनकपुर र भारतको बिहारको मधुबनी क्षेत्रमा पर्छ । यस कलाको प्रारम्भ भगवान् राम र देवी सीताको विवाहको अवसरमा भएको थियो, जहाँ राजा जनकले आफ्नी छोरी सीताको विवाहका लागि सम्पूर्ण मिथिला क्षेत्रका घरहरूलाई रङ्गीन चित्रले सजाउन आदेश दिएका थिए । महिलाले देवीदेवताका चित्र, विवाहका दृश्य र प्राकृतिक रूपरेखा पर्खालमा कोरेर मिथिला कलाको आधार तयार पारेका थिए ।

सुरुवातमा यो कला घरका माटोका पर्खाल र भुइँमा बनाइन्थ्यो, जहाँ कलाकारले फूल, पात, फल, माटो र कोइला प्रयोग गरी प्राकृतिक रङ निर्माण गर्थे र बाँसको काँटी, कपासको टुक्रा अथवा औँलाको प्रयोग गरेर चित्र बनाउँथे । शताब्दीयौँदेखि मिथिला कलाले मिथिला समाजको धर्म, संस्कार र दैनिक जीवनका विविध पाटो चित्रित गर्दै आएको छ । 

विशेष गरी रामायण, महाभारत, शिव–पार्वती, लक्ष्मी, कृष्ण–राधालगायतका धार्मिक विषय तथा विवाह, उत्सव, खेतीपाती र जनजीवनका दृश्य । २० औँ शताब्दीमा यो कला घरभित्र मात्र सीमित नरही कागज, कपडा र क्यानभासमा उतारिन थाल्यो र त्यसपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय भयो । यस किसिमले मिथिला कला परम्परागत रूपमा महिला कलाकारको सिर्जनात्मकता, श्रद्धा र सांस्कृतिक पहिचानको अमर यात्रा भएको देखाउँछ । यसरी मिथिला कलाको इतिहास केवल चित्रकलाको विकास होइन, यो मिथिला समुदायको धर्म, संस्कृति र जीवनशैलीको अनुकरणात्मक अभिव्यक्ति हो र यसले नेपाली तथा भारतीय मिथिला क्षेत्रमा सांस्कृतिक पहिचानलाई समृद्ध बनाइरहेको छ ।

आधुनिक अवस्था

मिथिला कलाले अहिले विश्वव्यापी रूपमा आफ्नो पहिचान बनाएको छ । यो कला केवल सांस्कृतिक सम्पदा मात्र नभई स्थानीय महिलाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरताको महìवपूर्ण साधन बनिसकेको छ । जनकपुरका महिलाहरूले परम्परागत कला–संस्कृतिलाई आधुनिक बजारसँग जोडेर नयाँ सम्भावना सिर्जना गरेका छन् । विभिन्न गैरसरकारी संस्थाले मिथिला कलालाई संरक्षण, प्रवर्धन र व्यावसायिक विकासका लागि महत्वपूर्ण भूमिका खेलेका छन् । यस्ता संस्थाले स्थानीय महिलालाई तालिम, रोजगारी र बजारमा पहुँच उपलब्ध गराएर उनीहरूको जीवनस्तर सुधार गर्न सहयोग पु¥याएको छ । यी महिला अहिले कागज, क्यानभास, कपडा, माटाका भाँडा, पोस्टकार्ड, वाल–ह्याङ्गिङ, लुगाफाटा र अन्य सजावटी सामग्रीमा मिथिला कलाको प्रयोग गर्छन् । यसरी तयार गरिएका कलाकृति स्थानीय बजारदेखि लिएर अन्तर्राष्ट्रिय प्रदर्शनी र अनलाइन माध्यमसम्म बिक्री हुन्छन् ।

मिथिला कलाले जनकपुरलाई नेपालको सांस्कृतिक राजधानीका रूपमा चिनाउन मद्दत गरेको छ । यो कला अब केवल घरका पर्खालमा सीमित छैन, बरु यसले विश्वभरका कला रसिकहरूलाई आकर्षित गरेको छ । विदेशी पर्यटक जनकपुर आउने प्रमुख कारणमध्ये एक मिथिला कला पनि हो । यस कलाले महिलामा आत्मविश्वास, आर्थिक स्वतन्त्रता र समाजमा सम्मानको भावना जगाएको छ । यसले परम्परा र आधुनिकताको सुन्दर मिश्रण प्रस्तुत गर्दै मिथिला क्षेत्रको गौरवमय सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा उजागर गरेको छ ।

प्रतीकात्मक सन्देश

मिथिला कलामा प्रयोग गरिएका हरेक प्रतीक र आकृतिले गहिरो अर्थ बोकेको हुन्छ । यो कला केवल सौन्दर्य प्रदर्शन होइन, जीवन दर्शन, श्रद्धा र समाजको मूल्य व्यवस्थाको अभिव्यक्ति हो । प्रत्येक चित्र, रेखा र रङले कुनै न कुनै सन्देश दिन्छ । मिथिला कलामा माछा उर्वरता, शुभता र समृद्धिको प्रतीक मानिन्छ । मोर प्रेम, सौन्दर्य र रोमांसको प्रतीक हो, विशेष गरी विवाहसम्बन्धी चित्रमा यसको प्रयोग हुन्छ । हात्ती बल, ज्ञान र शक्ति जनाउँछ, जसलाई भगवान् गणेशसँग पनि सम्बन्धित गरिन्छ । कछुवा दीर्घायु र स्थिरताको प्रतीक हो र यसले भगवान् विष्णुको कुर्म अवतारलाई सम्झाउँछ ।

सूर्य जीवन, ऊर्जा र अनन्तताको प्रतीक हो भने चन्द्रमा शान्ति र प्रेमको प्रतीक हो । कमलको फूल पवित्रता, आध्यात्मिकता र सौन्दर्यको प्रतीक हो, जसले देवी लक्ष्मीको प्रतिनिधित्व गर्छ । त्यसै गरी जीवनको रुखले आकाश, पृथ्वी र पातालबिचको सम्बन्ध जनाउँछ, जसले सन्तुलन र वृद्धिको सन्देश दिन्छ । चराहरू स्वतन्त्रता, प्रेम र आशाको प्रतीक हुन् । सर्प संरक्षण, शक्ति र पुनर्जन्मको चिनारी हो । चित्रमा देखिने ज्यामितीय ढाँचाहरू र साना साना रेखाले अनन्तता, एकता र जीवनको निरन्तरतालाई जनाउँछन् ।

रङहरूको पनि आफ्नै अर्थ हुन्छ । रातो प्रेम, ऊर्जा र शक्ति । पहेँलो ज्ञान र शान्ति । निलो वीरता र सामथ्र्य । हरियो प्रकृति र समृद्धि । कालो नकारात्मक शक्तिबाट रक्षा र सेतो पवित्रता र शुद्धताको प्रतीक हो । यसरी मिथिला कलाको प्रत्येक चित्रमा मिथिलाको संस्कृति, धर्म, नारीशक्ति र प्रकृतिप्रतिको आदर झल्किन्छ । यो कला शब्दविहीन कथा हो । यसले रङ र रेखामार्फत जीवन, प्रेम र आस्थाको गहिरो अर्थ व्यक्त गर्छ ।

मिथिला कला साँच्चिकै मिथिला क्षेत्रको आत्मा र गौरव हो । यो केवल चित्रकलाको रूप होइन, बरु जीवन दर्शन, संस्कार र विश्वासको अभिव्यक्ति हो । यस कलामा मिथिला समाजको इतिहास, धर्म, प्रेम, प्रकृति र महिलाको भावना सबै एकै साथ मिसिएका छन् । मिथिला कलाले मिथिला संस्कृतिको कथा बोकेको छ–सीता र रामको प्रेम, शिव–पार्वतीको भक्ति र जीवनका सुख दुःखका क्षण सबै यसमा देख्न सकिन्छ । प्रत्येक चित्रमा एक सन्देश हुन्छ, प्रकृतिप्रतिको आदर, नारीशक्तिको सम्मान र जीवनप्रतिको उत्सव । समयसँगै यसको माध्यम र स्वरूपमा परिवर्तन आएको छ । पहिले यो कला घरका पर्खाल र भुइँमा माटो र प्राकृतिक रङले बनाइन्थ्यो । आज यो क्यानभास, कपडा र कागजमा फैलिएको छ । परिवर्तनसँगै पनि यसको आत्मा, प्रेम, भक्ति र रचनात्मकता उस्तै रहेको छ ।

मिथिला कलाले महिलालाई समाजमा आवाज दिएको छ । यसले उनीहरूलाई केवल कलाकार होइन, परम्पराका संरक्षक र संस्कृतिका वाहक बनाएको छ । महिलाले आफ्नो भावनालाई रङ र रेखामार्फत व्यक्त गर्दै सन्देश दिन थालेका छन् कि उनीहरू सिर्जनशील, सक्षम र समाजका केन्द्र हुन् । मिथिला कला केवल एउटा चित्र होइन, यो एक पहिचान हो । मिथिलाको हृदयमा बस्ने आत्मा । यसको प्रत्येक रङ, रेखा र रूपले भन्छ–‘मिथिला बाँचिरहेकी छ, आफ्नो संस्कृतिसँग, आफ्नो कला र कथासँग ।’