बुटवल समाचारदाता
बुटवल, पुस ११ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिकको स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल स्वास्थ्यकर्मी सङ्घको आठौँ केन्द्रीय महाधिवेशनको बिहीबार रुपन्देही तिलोत्तमामा उद्घाटन गर्दै कांग्रेस नेता शाहले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारकै दायित्व भएको उल्लेख गर्दै उपचार सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्नेमा जोड दिनुभएको हो । उहाँले कोभिड–१९ महामारी जस्तो कठिन समयमा स्वास्थ्यकर्मीले पु¥याएको योगदान अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
उहाँले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीको आवाज सुन्नु अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गङ्गा शाहीले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका स्वास्थ्यकर्मीको सुरक्षा र उनीहरूका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले महामारीजन्य विपत्का समयमा स्वास्थ्यकर्मीको योगदान उच्च रहेको बताउँदै उनीहरूका समस्या समाधानमा सरकारले तदारुकता देखाउनुपर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका खाणले स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोगका लागि आफू तयार रहेको उल्लेख गर्दै प्रभावकारी स्वास्थ्य सेवाका कारण पछिल्ला वर्षमा नागरिकको औसत आयु बढ्दै गएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा सङ्घका उपाध्यक्ष किरण वलीले सङ्घले बेहोर्नुपरेका व्यवधानको जानकारी गराउँदै यो अधिवेशनले सङ्गठनमा आइपरेका समस्याको समाधान गर्ने र सङ्गठनलाई गति दिने विश्वास व्यक्त गर्नुभयो ।