सिराज खान
नेपालगन्ज, कात्तिक २१ गते । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३६ जनालाई पक्राउ गरिएको छ ।
नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले दिनुभएको जानकारी अनुसार भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई बाँकेका विभिन्न स्थानबाट, तीन जनालाई चितवन र एक जनालाई काभ्रेबाट पक्राउ गरिएको हो ।
उहाँले पक्राउ गरिएकामध्ये तीन जनालाई चितवन कारागार र एक जनालाई काभ्रे जिल्लाको कारगारमै राखिएको पनि बताउनुभयो ।
बाल सुधार गृहबाट भागेका मध्ये ४२ जना अझैपनि फरार रहेको जनाउँदै सुधारगृहका प्रमुख रानाले उनिहरुको खोजी गर्ने कार्य प्रहरीले गरिरहेको बताउनुभयो ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दीहरू सो बाल सुधार गृहबाट भागेका थिए । भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
फरार भएका बालबन्दी लगायत सबै प्रकारका कैदीबन्दीहरूलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । सो समयसीमा पूरा भएको एक महिना नाघेपनि ४२ जना बालबन्दीहरु पक्राउ नपरेको नौबस्ता बाल सुधार गृहले जनाएको छ । हालसम्म पक्राउ नपरेकाहरूलाई कारागार ऐन अनुसार कारबाही हुने बताइएको छ ।