• २१ कात्तिक २०८२, शुक्रबार

दुर्गम सुस्ता बिस्तारै सुगम बन्दै

blog

परासी समाचारदाता

पश्चिम नवलपरासी, कात्तिक २१ गते । लामो समयसम्म नारायणी नदी पार गर्न काठको डुङ्गामा निर्भर रहँदै आएको सुस्ता अहिले सुगम बन्दै गएको छ । 

भारतसँग सिमाना जोडिएको सुस्ता गाउँपालिकाको नाम यसको ऐतिहासिक स्थल ‘सुस्ता’ बाट राखिएको हो तर यही सुस्ता गाउँ लामो समयसम्म आफ्नै गाउँपालिकाको मुकामसँग पनि टाढा रहँदै आएको थियो । एकातर्फ भारतीय अतिक्रमणको पीडा, अर्कातर्फ आधारभूत पूर्वाधारको अभावले सुस्तावासीको जीवन विगतमा निकै पीडादायी थियो ।

विगतमा सुस्ता र डुङ्गा प्रायवाची जस्तै थियो । डुङ्गाबिना सुस्तावासीको जीवन चल्दैनथ्यो । अहिले सुस्ताको पहिचान नै परिवर्तन भएको छ । नारायणी नदीमाथि बनेको नेपालकै सबैभन्दा लामो एक हजार ५७१ मिटरको झोलुङ्गे पुलले सुस्ताको विकासको गतिलाई बदलेको छ । 

पुलकै सहारामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पनि सुस्तावासीले देख्न पाएका छन् । यसअघि सौर्य ऊर्जाबाट अस्थायी रूपमा उज्यालो पाइरहेका सुस्तावासी अहिले स्थायी बिजुली पाएका छन् । स्थानीय मुन्सी हरिजन भन्नुहुन्छ, “पहिले सोलार बिग्रिँदा बत्ती बाल्न सकिँदैनथ्यो, अब भने घर घरमा उज्यालो छ । सुस्ता साँच्चै परिवर्तन हुँदै छ ।”

हाल सुस्तामा ३५० परिवार बसोबास गर्छन् । पक्की सडक निर्माण भएपछि हिउँद र बर्खाको समयमा सहज आवागमन सम्भव भएको छ । प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत साढे चार करोड रुपियाँको लागतमा १५० पक्की घर निर्माण भइरहेका छन् ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार पुल र बिजुलीले सुस्तालाई विकासतर्फ डो¥याएको छ । उहाँले भन्नुभयो, “पहिले भारतीय सुरक्षाकर्मीको डर र नदी पार गर्ने जोखिम थियो, अहिले त्यो अवस्था धेरै हदसम्म घटेको छ ।”