लुम्बिनी प्रदेश ब्युरो
बुटवल, कात्तिक २१ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर मतदाता नामावली दर्ता र अद्यावधिकको काम सुरु भएको छ । लुम्बिनी प्रदेशका हरेक गाउँबस्तीमा मतदाता नामावली दर्ता गर्ने लहर चलिरहेको छ ।
दाङ समाचारदाता सन्तोष दहितका अनुसार असोज १२ गतेदेखि सुरु गरिएको अभियानको एक महिनाभित्र एक हजार ५१४ जना नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले अघिल्ला निर्वाचनका तुलनामा यो सङ्ख्या निकै कम रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने भिड देखिन्छ तर मतदाता बन्नेमा भने खासै चासो देखिएको छैन ।
राजनीतिक दलले पनि यस पटक मतदाता दर्ता अभियानमा सक्रियता देखाएका छैनन् । त्यस कारणले पनि नाम दर्ता गर्ने सङ्ख्या न्यून भएको जनाइएको छ । कुँवरले भन्नुभयो, “पहिले दलका प्रतिनिधि गाउँ गाउँ घुम्थे, अहिले राजनीतिक दलका त्यस्ता गतिविधि छैन ।” हालसम्म दाङमा थपिएका नयाँ मतदातामध्ये ९८३ पुरुष र ५३१ महिला रहेका छन् ।
यस अवधिमा १८३ जनाले नामसारी गरेका छन् भने ८६ जनाले मतदाता नामावलीमा त्रुटि सच्याएका छन् । दाङमा अहिले तीन निर्वाचन क्षेत्र छन् । जहाँ कुल मतदाता सङ्ख्या चार लाख १६ हजार ३५ पुगेको छ । तीमध्ये दुई लाख ११ हजार ७१६ महिला, दुई लाख पाँच हजार १७ पुरुष र दुई अन्य मतदाता छन् । गुलरिया समाचारदाता यज्ञप्रसाद सापकोटाका अनुसार बर्दियामा पनि मतदाता दर्ता गर्ने क्रम चलिरहेको छ । गत असोज १० गतेदेखि सुरु भएको अभियानमा हालसम्म जम्मा ६४३ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालका अनुसार तीमध्ये ४०७ पुरुष र २३६ महिला छन् ।
हाल बर्दियामा कुल तीन लाख १७ हजार ३३४ मतदाता रहेका छन् । जसमा अघिल्लो अवधिमा एक लाख ५६ हजार ९५ पुरुष, एक लाख ६१ हजार २३३ महिला र छ जना अन्य मतदाता थिए । ढकालका अनुसार पछिल्लो समयमा दैनिक ५० जनाको हाराहारीमा मात्रै नामावली दर्ता हुँदै आएको छ । दाङ र बर्दिया दुवै स्थानमा देखिएको मतदाता दर्ता उत्साहको कमीले निर्वाचन आयोगलाई अन्तिम समयसम्म चुनौती बन्न सक्ने देखिएको छ ।
रुकुमपूर्व समाचारदाता जयमान बुढाका अनुसार जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वमा मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम चलिरहेको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी वीरप्रताप पुनले रुकुमपूर्वमा मतदाता नामावली सङ्कलन गर्नेको उत्साह न्यून रहेको जानकारी दिनुभयो ।
उहाँले असोज १० देखि कात्तिक १९ गतेसम्म पुरुष ७१ र महिला २६ गरी ९७ जनाले मात्र नामावलीमा नाम दर्ता गरेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले दैनिक १५ देखि ३५ जनासम्मले जिल्ला प्रशासनमा नयाँ नागरिकता बनाएर जाने गरेको बताउनुभयो ।