जुम्ला समाचारदाता
जुम्ला, कात्तिक २० गते । जुम्लाको सिँजा गाउँपालिकाका एक हजार ६४ घरधुरीमा खानेपानी पुगेको छ । सिँजा गाउँपालिका र साझेदार संस्थाको सहयोगमा गाउँपालिकाले खानेपानी पु¥याएको हो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सङ्घीय सरकारले गाउँपालिकालाई दिएको अनुदानबाट र फिनल्यान्ड सरकार, युरोपियन युनियनको संयुक्त सहयोगमा यहाँका घर घरमा धारा पु¥याइएको छ ।
गाउँपालिका खानेपानी सहायक टेक्नेसियन गजेन्द्रबहादुर महतका अनुसार गाउँपालिकाको आर्थिक सहयोगबाट वडा नं. १ डिग्रा जाँच खानेपानी आयोजना अन्तर्गत २१४ धारा, विष्टबाडा खानेपानी आयोजनाबाट ८५ धारा, नराकोटगाउँ खानेपानी आयोजनाबाट १५२ वटा धारा निर्माण भएका छन् ।
यसै गरी गाउँपालिका र लापा परियोजनाको सहयोगमा फुङ्ग्रगाउँमा ११९ धारा, कर्णाली प्रदेशको सहयोगमा गाडापानीगाउँमा ५८ वटा धारा निर्माण भएको छ । उहाँका अनुसार सिँजा गाउँपालिकामा लागु गरिएको सुस्वा परियोजना अन्तर्गत गाउँपालिका र फिनल्यान्ड सरकार, युरोपियन युनियनको सहयोगमा ४३६ धारा निर्माण भएका छन् । जसमा वडा नं. ३ को धिताल लिहीगाउँमा ६४ धारा, फार्सेवाडागाउँमा १३० धारा, वडा नं. ५ गोरागाउँमा १८८ धारा, रुघागाउँमा ५४ धारा, वडा नं. ६ को जोडुगाउँमा ११० धारा, वडा नं. २ का चुलेलगाउँमा ८८ धारा, वडा नं. १ को धापामा २७ धारा र भुलीगाउँमा २२ धारा यो आर्थिक वर्षमा निर्माण हुँदै छन् । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार नराकोट सिँजाको प्रशासनिक केन्द्रसहित धेरै गाउँमा खानेपानी नभएपछि पालिकाले खानेपानीलाई समेत प्राथमिकता दिएको छ ।
यसैबिच सिँजा गाउँपालिका खानेपानीको विषयमा सुस्वा परियोजनाले गरेको मूल्याङ्कनमा प्रथम भएको छ । कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको घोषणा कार्यक्रममा कर्णालीका २८ स्थानीय तहमध्ये सिँजा गाउँपालिकाले खानेपानीमा यस पटक उत्कृष्ट भएको हो । सिँजाले २६ प्रतिशत बजेट खानेपानीमा लगानी गरेको, पारदर्शिता गरेको, विवादित आयोजना तथा समस्या समाधानमा पहलकदमी गरेर विवाद समाधान गर्ने अभियानसाथ काम गरेका कारण २८ स्थानीय तहमध्ये सिँजा प्रथम स्थान हासिल गरेको गाउँपालिकाले सुस्वा परियोजना संयोजक मञ्जु थापाले जानकारी दिनुभयो ।