• १९ कात्तिक २०८२, बुधबार

जलवायु वार्तामा विश्व नेता प्रवेश गर्दा, गरिब समुदाय सबैभन्दा बढी जोखिममा

blog

रियो डी जेनेरियो, कात्तिक १९ गते । ब्राजिलमा हुन लागेको आगामी जलवायु वार्ताको सन्दर्भमा विश्वका नेता एकत्रित हुँदै गर्दा जलवायु सङ्कटको सबैभन्दा ठुलो मूल्य तिर्ने गरिब र सीमान्त समुदाय हुने प्रष्ट हुँदै गएको छ ।

रियोको उत्तरी भागमा अवस्थित अरारा बस्तीका लुइस क्यासियानो अहिलेका तात्तिएका गर्मीका दिनमा चिन्तित हुनुहुन्छ । उहाँ ३० वर्षदेखि त्यहीँ बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “आजको घाम साँच्चै डरलाग्दो छ ।” उहाँले आफ्नै घरमा हरियो छत बनाएका कारण केही राहत त पाउनुहुन्छ, जसले तापक्रम १५ डिग्री सेल्सियससम्म कम गर्छ, तर बारम्बारको विद्युत् अवरोधले वातानुकूलनको भर गर्न सकिँदैन ।

विश्वका नेता जलवायु वार्ताका लागि ब्राजिल आउँदै गर्दा क्यासियानो जस्ता करोडौँ मानिस असहज तापक्रम र आँधी बेहरीको जोखिममा छन् । चरम मौसमका घटनाले गरिबीमा परेकालाई अझ नोक्सान पुर्‍याइरहेका छन्, किनभने उनीहरूलाई सामना गर्न न त स्रोत, न त प्रविधि केही छैन । संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वमा करिब एक अर्ब १० करोड मानिस चरम गरिबीमा बसिरहेका छन् । 

यसै कारण धेरैले तुलनात्मक रूपमा गरिब सहर बेलेममा यो सम्मेलन आयोजना गर्नु सराहनीय ठानेका छन् । युएन वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इन्गर एन्डरसनका अनुसार बेलेमजस्ता ठाउँमा सम्मेलन हुनु उपयुक्त छ, किनकि यहाँ गरिबी र जलवायु सङ्कट प्रत्यक्ष देखिन्छ । 

गरिबी र जलवायु सङ्कटको टक्कर केवल विकासशील मुलुकमै सीमित छैन । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी) को प्रतिवेदनले धनी देशका गरिब पनि चरम गर्मी, बाढी, खडेरी वा प्रदूषण जस्ता कम्तीमा चार खतरामध्ये एकको प्रभावमा छन् भन्ने देखाउँछ । विश्व स्रोत संस्थानका वरिष्ठ फेलो कार्टर ब्रान्डन भन्नुहुन्छ, “गरिब मानिससँग जोखिमयुक्त ठाउँ छोड्ने वा प्रकोपपछि पुनर्निर्माण गर्ने क्षमता हुँदैन । त्यसैले जलवायु सङ्कटले उनीहरूको जीविकोपार्जन मात्र होइन, जीवन नै सङ्कटमा पार्छ ।”

अफ्रिकामा झन्डै ५० करोड मानिस गरिबीमा छन् र तीमध्ये धेरै खेतीमा निर्भर छन् । अन्तर्राष्ट्रिय कृषि अनुसन्धानका सल्लाहकार समूहकी कार्यकारी निर्देशक इस्माहाने एलोआफीका अनुसार प्राविधिक समाधानले केही राहत दिन सक्छ, तर त्यसको पहुँच अधिकांश किसानमा छैन ।

ब्राजिल सरकारले बेलेममा सम्मेलन आयोजना गरेर विश्वलाई अमेजन क्षेत्रका वास्तविक चुनौती देखाउने प्रयास गरेको छ । अक्सफामकी जलवायु नीति प्रमुख नाफकोट डाबी भन्नुहुन्छ, “वार्ताकारले कठिन परिस्थितिमा बस्नुपर्ने गुनासो गरेका छन्, तर यही त संसारका अधिकांश मानिसको वास्तविकता हो ।”

तर सबैले यस सम्मेलनबाट ठोस परिणाम आउनेमा विश्वास राखेका छैनन् । ड्युक विश्वविद्यालयकी प्राध्यापक किम्बर्ली मेरियन सुसीया भन्नुहुन्छ, “द्रुत कारबाहीको आवश्यकता छ भन्ने कुरा सबैले स्वीकार्छन्, तर त्यो कोपबाट सम्भव देखिँदैन ।” युएनडिपीका निर्देशक पेड्रो कन्सेइकोका अनुसार विश्वमा गरिबी घट्ने गति रोकिएको छ । “अब गरिबीका तथ्याङ्क स्थिर छन्, घटेका छैनन्”, उहाँले भन्नुभयो । 

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले पनि हालैको वक्तव्यमा उत्सर्जन घटाउनेभन्दा पहिले मानव पीडा कम गर्नमा जोड दिनुपर्ने बताउनुभएको छ । तर कन्सेइको भन्नुहुन्छ, “गरिबी घटाउने र जलवायु सङ्कट समाधान गर्ने दुवै कुरा अलग होइनन् । यी एउटै एजेन्डाका दुई पाटा हुन् जहाँ एकमा सफलता अर्काको समाधान पनि हो ।” रासस/एपी