शङ्कर केसी,
सल्यान, कात्तिक १९ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करण अघि कर्णाली याक्सको टिमले सल्यानमा गरेको ट्रफी टुर अभियानले जिल्लामा क्रिकेटप्रती उत्साह बढ्ने अपेक्षा गरिएको छ । मङ्गलबार सल्यानमा कर्णाली याक्सका खेलाडीहरूको टिमले ट्रफीसहित भ्रमण गरेको हो ।
यो अभियानले क्रिकेट विकासका लागि महत्त्वपूर्ण सहयोग पुर्याएको नेपाल क्रिकेट सङ्घ (क्यान) सल्यानका अध्यक्ष सविन हमालले बताउनुभयो । "यो ट्रफी टुरले हाम्रो जिल्लामा क्रिकेटप्रतिको चासो र उत्साह बढाएको छ", उहाँले भन्नुभयो, "यस अभियानले बालबालिकालाई खेलतर्फ आकर्षित गर्ने र दीर्घकालीन रूपमा नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास हाम्रो छ ।"
प्रसिद्ध पर्यटकीय गन्तव्य कुपिण्डे ताल हुँदै सदरमुकाम खलङ्गा आएको कर्णाली याक्सको टिमलाइ बाजागाजा सहित सयौं नागरिकले स्वागत गरेका थिए । ट्रफी टुर टोलीमा कर्णाली याक्सका खेलाडी बिपिनप्रसाद शर्मा र युनिस बिक्रम सिंह ठकुरी पनि सहभागी थिए।
खलङ्गामा आयोजित स्वागत समारोहमा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी, उपाध्यक्ष बुद्धाकुमारी खत्री, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा लगायत अन्य जनप्रतिनिधि र खेलप्रेर्मीहरूको उपस्थिति रहेको थियो ।नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि पुस २८ गतेसम्म (नोभेम्बर १७ देखि डिसेम्बर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ ।