ज्ञानु पङ्गेनी
मध्यविन्दु, कात्तिक १९ गते । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै नवलपुरका जनप्रतिनिधिहरूले बुधवार किटानी जाहेरी दिएका छन् ।
मध्यविन्दु नगर प्रमुख भीमलाल अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयमा पुगेको जनप्रतिनिधिहरूको टोलीले प्रहरी प्रमुख युवराज खड्का समक्ष जाहेरी बुझाएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, उपाध्यक्ष पूर्णसिंह राना, मध्यविन्दु उपप्रमुख पूर्णकला चौधरीसहित वडाध्यक्षहरू, सदस्यहरू तथा सामाजिक अगुवा सहितको टोलीले संयुक्त रूपमा जोहरी बुझाएको हो।
मध्यविन्दु नगर प्रमुख अधिकारीले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा अराजक समूह, उद्दण्ड र केही व्यक्तिहरूले राजनैतिक प्रतिशोध साँधेर सरकारी कार्यालय र निजी सम्पत्ति माथि आगजनी तोडफोड र लुटपाट मच्चाउने काम भएको हुँदा यस्ता गतिविधि कुनै आन्दोलन नभई हिंसा रहेको भन्दै यथाशीघ्र त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
आन्दोलनका क्रममा भएका अमानवीय र आपराधिक क्रियाकलापले जनप्रतिनिधि मात्रै होइन प्रहरी, प्रशासन समेतको मनोबल गिरेको अहिलेको अवस्थामा यदि त्यस्ता आपराधिक काममा संलग्नलाई कारबाही नगरी मौन बसेमा स्थानीय सरकारले सेवा प्रवाह गर्न नसक्ने र प्रहरी प्रशासनले समेत सुरक्षा दिन नसक्ने हुँदा सही ढङ्गबाट अनुसन्धान गरी प्रमाण पुगेकालाई कानुन बमोजिम कारबाही गर्न नगर प्रमुख अधिकारीले अनुरोध गर्नुभयो ।
जाहेरी बुझेपछि प्रहरी प्रमुख युवराज खड्काले अपराधमा संलग्न कुनै पनि व्यक्ति उम्कन नसक्ने भन्दै प्रचलित कानुन बमोजिम कारबाही हुने बताउनुभयो । उहाँले जाहेरीका अनुसन्धान सुरु गरी प्रत्यक्ष संलग्नलाई कारबाही गर्ने बताउनुभयो ।
अनुसन्धानका लागि अहिले किटानी जाहेरी परेकाहरूकोे नाम , ठेगाना गोप्य राखिएको छ । अनुसन्धानमा बाधा पुग्ने भएकाले अहिले सार्वजनिक गर्न नमिल्ने प्रहरी प्रमुख खड्काले बताउनुभएकोे छ ।
घरमा आगजनी, लुटपाट र तोडफोड गर्नेहरूको फोटो, भिडियो, सामाजिक सञ्जालका स्टाटस लगायतका प्रमाणसहित किटानी जाहेरी दिइएको मध्यविन्दु नगर प्रमुख अधिकारीले बताउनुभयो । आपराधिक कार्यमा प्रत्यक्ष संलग्न रहेका र उनीहरूलाई सघाउने ,उक्साउने लगायत सबैलाई कारबाहीको माग गरेर किटानी जाहेरी बुझाएको अधिकारीले जानकारी दिनुभयो ।