रामकृष्ण बोहरा
बागलुङ, कात्तिक १५ गते । बागलुङ नगरपालिका वडा नं. ४ को निरयघाटमा निर्माणाधिन मानवसेवा आश्रम बागलुङको भवनका लागि सहयोग जुट्ने क्रम बढ्दै गएको छ । आश्रमको भवन बनाउन आयोजना गरिएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै सहयोग जुट्ने क्रम बढेको हो ।
बागलुङ नगरपालिका वडा नं. ३ गुठी घर भई हाल अमेरिका रहँदै आउनुभएका समाजसेवी उज्वल खड्काले मानवसेवा आश्रम भवनको एक कोठा निर्माणका लागि पाँच लाख ११ हजार एक सय ११ रुपियाँ प्रदान गर्नुभएको हो । विदेशमा बसोबास गर्दै मानवीय सेवामा क्रियाशिल खड्काले सो रकम सहयोग गर्नुभएको हो ।
आगामी कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकम अक्षयकोष श्रीवृद्धि र भवन निर्माणमा खर्च गरिने आश्रमको योजना छ । १० करोडको अक्षयकोष बनाएर आश्रमलाई नियमित संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।
विशेषगरी मानवसेवा आश्रमको भवन आगामी चैत मसान्तभित्र सकेर दुई सय जना आश्रितलाई राखेर सेवा प्रवाह गर्ने लक्ष्य छ । त्यस बाहेक गण्डकी प्रदेशलाई सडक मानवरहित प्रदेश बनाउने लक्ष्य पूरा गर्ने, आगामी चैत मसान्तभित्र नेपाललाई नै सहयोगीपेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माणको सङ्कल्प पूरा गर्न महायज्ञ सञ्चालन गर्न लागिएको समाजसेवी सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
दानमुठी, बागलुङ नगरपालिकासहित जिल्लाका अन्य पालिका समेतले झण्डै पाँच करोड लगानी गरेको भवन ठडिएको छ । यो भवनको निर्माण सम्पन्न गर्न थप तीन करोड रुपियाँ आवश्यक पर्छ । यो भवन बनेपछि दुई सय जनालाई राख्न सकिन्छ । मानव सेवा आश्रमले हाल बजारमा रहेको भवनमा ६६ जना आश्रितलाई राखिरहेको छ । सडकमा अलपत्र भेटिएका, अपाङ्गता भएका तथा परिवारबाट त्यागिएकालाई आश्रममा राख्ने गरिएको छ । मासिक १० लाख खर्च गरेर आश्रममा ६६ जना राखिएको आश्रम व्यवस्थापक बिपना तामाङले बताउनुभयो ।
महायज्ञ अवधिभर एक हजार जनालाई बिहान योग शिविरमा जोड्ने, विद्यार्थीलाई सकारात्मक सोच तथा मानवता प्रवर्धनका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, स्थानीय र राष्ट्रिय कलाकारद्वारा भजनकिर्तन र कला तथा नाटक मञ्चन गर्ने योजना छ । महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले कथा प्रवचन गर्नुहुने छ ।