• १५ कात्तिक २०८२, शनिबार

हरर चलचित्र महोत्सव सुरु

blog

कार्यक्रममा मन्तव्य दिनुहुँदै रसिक पाठक

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १५ गते ।  नेपालमा पहिलो पटक ‘हरर’, काल्पिनक र लोककथामा आधारित चलचित्र महोत्सव ‘काठमाडौँ हरर फिल्म फेस्ट’ सुरु भएको छ । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रुसी राजदूतावासको सहकार्यमा भएको तीनदिने महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको छ । 

प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हेलोविन तथा नेपालका गठेमङ्गल र गाईजात्रा जस्ता परम्परागत चाडबिच समानता उल्लेख गर्दै भन्नुभयो, “संसार एउटै हो, डर र साहस जस्ता भावना सार्वभौमिक हुन्,” उहाँले भन्नुभयो, “यो युगमा यस्ता महोत्सवले मानवीय सम्बन्धलाई जोगाइराख्छन् र सिर्जनात्मक सम्बन्ध बलियो बनाउँछन् ।” डिसीले स्वतन्त्र चलचित्र महोत्सवको सञ्जाल विस्तार गर्न बोर्डले छिट्टै नेपालभरका महोत्सव आयोजकबिच सहकार्य बढाउने पहल गर्ने बताउनुभयो । 

चलचित्रकर्मी तथा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीका सल्लाहकार तुलसी घिमिरेले महोत्सवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लेटफर्म भएको बताउनुभयो । महोत्सव निर्देशक रसिक पाठकले दशकौँदेखि नेपाली चलचित्रले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको थियो तर आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँ, भन्नुभयो ।  उहाँले हरर केवल भुत र छायाको कुरा होइन, यो आफैँभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना भएको प्रस्ट्याउनुभयो । पाठकका अनुसार हेलोविनको दिनमा सुरु भएको यो महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीबिच सांस्कृतिक सेतु निर्माण गर्ने लक्ष्य राखेको छ । 

महोत्सवको उद्देश्य नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रलाई प्रवर्धन गर्ने र यी विधाका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाइ थियो । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुने छ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्मलाई पुरस्कृत गरिने छ । महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको एकेडेमीका उपाध्यक्ष शिव पुरीले बताउनुभयो ।

महोत्सवको पहिलो दिन मिखाइल मर्जलिकिनले निर्देशन गरेको रुसी चलचित्र ‘समन’ प्रदर्शन गरिएको थियो । महोत्सवमा १५ देशका २५ चलचित्र प्रदर्शन हुँदै छन् । यी चलचित्र ८० भन्दा बढी प्राप्त आवेदनबाट छनोट गरिएका हुन् । यी चलचित्रमा मनोवैज्ञानिक, अलौकिक र सांस्कृतिक आयामका कथा समेटिएका छन् । महोत्सव आइतबारसम्म चल्ने छ । समापन समारोहमा तीन मुख्य पुरस्कार सर्वोत्कृष्ट फिचर फिल्म, सर्वोत्कृष्ट लघुचलचित्र र सर्वोत्कृष्ट युथ फिल्म (३० वर्षमुनिका निर्देशकका लागि) प्रदान गरिने छ ।