गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १५ गते । बालबालिकामा सिर्जनात्मक क्षमता अभिवृद्धिको उद्देश्यसहित सिन्धुलीमा कविता, कथा र निबन्ध लेखन तथा चित्रकला कार्यशाला सम्पन्न गरिएको छ । दुईदिने सो कार्यशालामा ३४ विद्यालयका १८७ जना विद्यार्थीको सहभागिता रहेको थियो । साहित्यकार प्रमोद प्रधानले कविता निबन्धको प्रशिक्षण, जियराज आचार्यले कथाको प्रशिक्षण र सपना नेपालीले चित्रकलाको प्रशिक्षण दिनुभएको थियो ।
सामाजिक रूपान्तरण नेपालद्वारा सिन्धुलीमाढीको सिद्धबाबा माध्यमिक विद्यालयमा आयोजित कार्यशालामा जिल्लाभरकै बालबालिकाको प्रतिनिधित्व भएको जनाइएको छ । सिन्धुलीमा चार वर्षदेखि यस्तो कार्यशाला आयोजना गरिँदै आएको साहित्यकार प्रमोद प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यशालाका क्रममा विद्यार्थीले चित्रकला बनाउँछन् र त्यसबाट छानेर सम्पादन गरी योग्य चित्र, कथा, कवितालाई ‘कमलामाईको कलम’ भनेर पुस्तक प्रकाशित गरिने गरिएको छ । कार्यशाला सम्पन्न भएको एक/दुई महिनापछि पुस्तक प्रकाशन गरिने र समय मिलाए कमलामाई साहित्य कला महोत्सव पनि आयोजना गरिने जनाइएको छ ।