तानसेन समाचारदाता
तानसेन, कात्तिक १५ गते । नेपालकै अनौठो चिच्चाएर वर माग्ने मेला सफलतापूर्वक सम्पन्न गर्न तयारी तीव्र पारिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्चाएर वर माग्ने मेलालाई सम्पन्न गर्न तयारी गरिएको हो । सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाका अवसर पारी हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले यो वर्षको मेला सम्पन्न गर्न तयारीलाई तीव्रता दिइएको बताउनुभयो । परापूर्वकालमा सत्यवती बज्यै घना जङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती तालनजिकै पुगेर चिच्याएर चिताएको वर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा हजारौँ भक्तजन वर माग्न आउने गरेका छन् ।
मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट समेत मानिस आउने गर्दछन् । यहाँ आउने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो चिनेर त्यही पूजा गरेपछि घर फर्कने प्रचलन रहेको छ ।