गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १५ गते । स्टार्टअप उद्यम कर्जाको सीमा घटाइएको छ । कर्जाबापत उद्यमीले २० लाख रुपियाँ पाउने भएका छन् । स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ लाई संशोधन गरेर सरकारले कर्जाको सीमा घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि तीन प्रतिशत ब्याजमा उद्यमीलाई २५ लाख रुपियाँसम्म त्यस्तो कर्जा वितरण गर्दै आएको थियो । अब उद्यमीले बिनाधितो तीन प्रतिशत ब्याजमा स्टार्टअप उद्यम कर्जा पाउने छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अध्यक्ष उमेशप्रसाद गुप्ताले चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्टार्टअप उद्यम कर्जा वितरणका लागि एक साताभित्र सूचना निकाल्ने तयारी गरिरहेको जानकारी दिनुभयो । चालु आवका लागि स्टार्टअप उद्यम कर्जाको कुल रकम पनि घटाइएको छ । गत आवमा एक अर्ब रुपियाँ वितरण गरिएकामा यस आवका लागि घटाएर ७३ करोड रुपियाँ विनियोजन गरेको छ । आव २०८१/८२ का लागि स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ मध्ये छ सय उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।