• २८ वैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रीय समिति बैठक : अध्यक्षद्वारा नौ वटा विषय प्रस्तुत (भिडियोसहित)

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, असार १९ गते। नेकपा (माओवादी केन्द्र)  केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ गर्नुभएको छ। 

बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले मुख्य नौ वटा एजेण्डामा छलफल हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “बैठक सञ्चालन प्रक्रियाबारे पार्टी अध्यक्षबाट जानकारी र प्रदेशको तर्फबाट संक्षिप्त रिपोर्टिङ हुनेछ। प्रदेश तर्फबाट प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्ने र मधेस प्रदेशको हकमा भने प्रदेश इन्चार्जले रिपोर्टिङ हुनेछ।”

आठौं महाधिवेशनदेखि नै रिक्त रहेका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने कार्यसूची रहेको अध्यक्ष दाहालले बताउनुभयो। 



उहाँले भन्नुभयो, “यो पटक हाम्रो केन्द्रीय समितिको बैठकले कार्यसूची अनुरुप नै सबै निर्णय गर्नेछ। हामीलाई आवश्यक पनि छ, पोलिटब्यूरो, स्थायी समिति र संगठनात्मक संरचनाको बारेमा नयाँ निर्णय लिनुपर्ने आवश्यकता महसुस भइसकेको छ।’’

 संगठनात्मक संरचना चुस्त, दुरुस्त नबनाइकन पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नसक्ने, कार्यविभाजन अहिलेको ऐतिहासिक माग भएको उहाँको भनाइ छ। 

माओवादी पार्टीलाई मजबुद बनाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र आगामी निर्वाचनको तयारी गर्न पनि संगठनात्मक संरचनामा केही हेरफेर गर्नुपर्ने र नेतृत्वको कार्यविभाजन गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो।

माओवादी बैठकका अन्य एजेण्डामा कार्यविभाजन गर्ने, स्थानीय तहको निर्वाचनको समीक्षा गर्ने, आगामी प्रदेश र संघीय निर्वाचनको तयारी तथा विविध विषयमा छलफल हुने अध्यक्ष दाहालले जानकारी दिनुभयो।