• १० कात्तिक २०८२, सोमबार

फोर्स गाडी दुर्घटना : बालकसहित पाँचजना घाइते

blog

सल्यानको छत्रेश्वरी, ६ शिवगुफा नजिकै दुर्घटना भएको फोर्स गाडी । तस्बिर : शंकर केसी

शङ्कर केसी
सल्यान, कात्तिक १० गते ।
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत छत्रेश्वरी, ६ शिवगुफा नजिकै गएराति करिब १२ बजे गाडी दुर्घटना परेको थियो ।

नेपालगन्जदेखि रुकुमपश्चिम तर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०७०६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा गाडीमा सवार १२ जना यात्रुमध्ये पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते हुनेहरुमा रुकुम पश्चिमको सानिभेरी गाउँपालिका, ११ बस्ने वर्ष ४० का डिल्लीबहादुर खत्री, ५२ वर्षीय भीमबहादुर डाँगी, सानोभेरी, १ का ४८ वर्षीय वीरबहादुर खड्का, उहाँकी श्रीमती ४८ वर्षीया धनसरी खड्का र सल्यानको दार्मा गाउँपालिका, २ निवासी निमा केसीको दुई वर्षीय छोरा जनक देवकोटा रहेको प्रहरीले जनाएको छ ।

उनीहरू सबै श्रीनगरस्थित अस्पतालमा उपचारपछि डिस्चार्ज भएको पनि जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । चालक जिल्ला रुकुम पश्चिम सानिभेरी, ८ बस्ने २३ वर्षीय दीपक केसी तथा गाडीका कागजात नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।