• १० कात्तिक २०८२, सोमबार

मन्दिरमा पूजाआजासँगै मेलाको रौनक

blog

बेडाजाँतमा चौलोसँगै गाँज नचाइँदै गरेको दृश्य । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी 
डडेल्धुरा, कात्तिक १० गते ।
नेपालीहरुका महान् पर्व दसैँतिहार सकिएपछि सुदूरपश्चिमका विभिन्न स्थानमा विराजमान देवीदेवताको वार्षिक भव्य पूजाआजासँगै मेलाको रौनक सुरु भएको छ । धार्मिक परम्परासँगै मौलिक संस्कृतिका साथ जाँत (मेला) हुने भएकाले यहाँ देउताका मन्दिरसँगै गाउँघरमा रौनकता छाउने गरेको छ ।  

जाँतमा देवीदेवताको पूजाआजासँगै धामीको नाच, स्थानीय मौलिक बाजागाजा चौलो, देउडा हुने गरेकाले जाँतमा रौनकता थपिने गरेको छ । तिहारपछि यहाँका गाउँघरमा अहिले दैनिक रुपमा कुनै न कुनै देवीदेवताको पूजाआज गरी जाँत हुने गरेका छन् ।

दसैँका बेला हुने पूजाआजा र यहाँका विभिन्न देवीदेवताका मन्दिरहरुमा तिहारपछि भव्य रुपमा वार्षिक पूजाआजा देवताका भाषामा (हुला) पूजा र मेला सुरु भएका हुन् । यी वार्षिक पूजाआजामा मनुवाहरुले भाकल गरे अनुसारका आभूषण देवीदेवतालाई सुम्पिने भएकाले महान मानिन्छन् ।

कुनै काम रोकिएको भए यी वार्षिक पूजाआजामा देवतासँग गुनासो राखिन्छ । देवलोकमा देवताहरुसँग साक्षात् रुपमा वार्तालाप भएको अनुभूति वार्षिक पूजाआजाका बेला गर्न सकिन्छ । धामीमार्फत हुने भाका वैचालीमा धामी नभएको खण्डमा नयाँ धामी चुनिनेलगायत गाउँघरका धार्मिक परम्परा अनुसारका सबै कार्यका लागि वार्षिक पूजाआजा महत्वपूर्ण हुन्छन् ।

वार्षिक पूजा महत्तवपूर्ण मानिने भएकाले देशविदेशबाट समेत स्थानीयहरु थातथलो पुगेर देवीदेवताका शरण पर्ने गरेको लेगी समैजीका पुजारी पण्डित करुणाकर भट्टले बताउनुभयो ।

तिहारको पाँच दिनपछि षष्टिका दिन शैलेश्वर महादेवको पूजालाई पहिलो पूजा र मेला मानिन्छ । नेपालको सबैभन्दा बढी लघुरुद्राभिषेक र रुद्रीको पाठ हुने शैलेश्वर धाम  जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ७, ८ र नवदुर्गा गाउँपालिका १ को सिमानामा अवस्थित छ । रेणुका नदी र शल्य नदीको किनारमा अवस्थित शैलेश्वर महादेव मन्दिरमा वडा नं. ६ को सल्लागाउँ र वडा नं. ८ को खनमडा गाउँबाट पूजाआजाको    विशेष सामग्री नेजाध्वजा, शंक घण्टासहित देउवा जाने प्रचलन रहिआएको छ । यहाँ षष्ठीको बेलुकी र सप्तमीको बिहान विशेष पूजाका साथ भव्य मेला लाग्ने गरेको छ ।

शैलेश्वर महादेवमा नवदुर्गा गाउँपालिका १ कोटेली गाउँका भट्टथरी, अजयमेरु गाउँपालिका १ पालीगाउँका भटट् थरी, अमरगढी नगरपालिका ८ हतर्का गाउँका भट्ट थरी र अमरगढी ६ छचोडा गाउँका पन्त थरीका चार वटा पुजारी रहनुभएको वडा नं. ७ का वडा अध्यक्ष खडक बोहराले बताउनुभयो । उहाँका अनुसार उहाँको गाउँ सल्लागाउँका बोहरा र खनमडा गाउँका पाण्डेयहरु करियाभरिया रहनुभएको छ ।

तिहार सकिएपछि शैलेश्वर महादेवसँगै जिल्लाका भव्य देवीदेवताहरु समैजी, डडेल्धुराको उग्रतारा भगवती मन्दिर, भागेश्वर (धुरा), महादेव मन्दिर रुपाल, बडाल जाँत, खोलाई जाँत मुख्य मलाको रुपमा लिने गरिन्छ । यस वर्ष उग्रतारा मेला (जेहिजाँत) कार्तिक १९ गते लाग्ने भएको छ । उग्रतारामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । यस वर्ष कात्तिक १८ गरे रतेडी मेला लाग्ने उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भटट्ले जानकारी दिनुभयो ।

उहाँका अनुसार छचोडा, खनमडा, दुमडा र जिलोडा गरी चार वटा गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) छ । यी चारवटै गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ः०० बजोको समयमा ‘देउरा’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ ।

‘‘बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भ्राणमा लगेर राखेपछि मेला सम्पन्न हुन्छ,’’ उहाँले भन्नुभयो ।

तिहारको पाँच दिनपछि शैलेश्वर महादेव, १० दिनपछि समैजी र १५ दिनपछि उग्रतारा मन्दिरमा पूजाअजासहित मेला लाग्ने गरेको छ । समैजी देवताको पूजाआजा यस वर्ष कात्तिक १४ गतेका दिन हुनेछ । कात्तिक शुक्ल दशमीका दिन बेलुकी मन्दिरमा पूजाआजा र रातिको समयमा भ्राणबाट देउरो लगेर मेला प्रारम्भ हुने पुजारी पण्डित भट्टले बताउनुभयो । अजयमेरु गाउँपालिका १ मुद्राण गाउँमाथिको जङ्गलमा रहेको कोला समैजी र अमरगढी नगरपालिका ७ पोखरामाथि जङ्गलमा रहेको लेगीसमैजी दशमीको दिन भव्य पूजाआजा गरिने उहाँले बताउनुभयो ।

नांगो तरबारको चौलोले प्रख्यात बडाल जाँत कात्तिक १५ गते हुने भएको छ । गन्यापधुरा गाउँपालिका–२ बडालमा रहेको लाटागन्याप देवताकाको पूजाआजा गरी बडाल जाँतमा दाइन दमाह, रुसिंग, भोकर बाजाको तालमा नाङ्गो तरबार नचाएर चौलो खेलिन्छ । धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ हुन्छ ।  प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवीदेवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।

दाईन, दमाह, रुईसिंग, भोकर बाजागाजाका साथ स्थानीयहरु हातमा तलवार खेलाई चौलो खेल्दै गाँज नाचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्दछ । तरबार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको लाटागन्याप भूमि देवल क्षेत्र विकास समितिका अध्यक्ष पूर्णबहादुर देउवाले बताउनुभयो । सुदूरपश्चिमकै सबैभन्दा बढी दाईन, दमाहा र भोक्कर बजाइने मेलाका रुपमा समेत बडाल जाँता प्रसिद्ध छ ।

यस वर्षको खोले जाँत कात्तिक २२ गते लाग्ने भएको छ । अजयमेरु गाउँपालिका–३ र ४ चिपुर सिमानामा पर्ने प्रसिद्ध जगन्नाथ मेला (खोले जाँत) कात्तिक २१ गते रतेडी र २२ गते दिसेडी परेको छ । जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टका अनुसार २१ गते राति ‘रतेडी’ र २२ गते दिउँसो ‘दिउसेडी’ मेला लाग्ने भएको हो ।

मेलामा गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनहरूले देउरो बोकेर जगन्नाथ मन्दिरमा पुग्ने परम्परा छ । पूजाआजापछि ‘तिलाख’ ग्रहण गर्न बिहानैदेखि भक्तजनहरूको भीड लाग्ने गर्छ ।

भागेश्वर (धुरा) जाँत १८ गते लाग्ने भएको छ । डडेल्धुराका यी लगायत अन्य दर्जनौ देवीदेवताका मन्दिरमा हुने जाँत (मेला)हरुमा स्थानीयहरुको आफन्तजनहरुको भेटघाँट गर्ने थलोका रुपमा पनि लिने गरिन्छ । जाँतमा विशेष गरी स्थानीय वस्तुहरुको किनमेल गर्ने गरिन्छ ।