• १० कात्तिक २०८२, सोमबार

बबई नदी पुल : निर्माण सकिने बेला तिस प्रतिशत काम

blog

घोराही समाचारदाता

घोराही, कात्तिक १० गते । निर्माण व्यवसायीको ढिलासुस्तीसँगै बजेट अभावका कारण पुल निर्माणको काम सम्पन्न हुने अवधिसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ । नेत्रलाल मार्ग अन्तर्गत दाङको घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदीमा पुल निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौता अनुसार पुल निर्माणको म्याद सकिन १० दिन मात्र बाँकी रहँदा पुलको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत मात्र भएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ ।

पुल सेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर रामकिसुन चौधरीका अनुसार २०८२ कात्तिक २० सम्म पुल निर्माण सम्पन्न गरी २०७९ मङ्सिर २१ गते १७ करोड एक लाख एक हजार रुपियाँमा शान्ति निर्माण सेवा अनामनगर काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो । इन्जिनियर चौधरीले ठेक्का सम्झौता अनुसार पुल निर्माणको काम अन्तिम चरणमा हुनुपर्ने भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीसँगै बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको बताउनुभयो ।

ठेक्का सम्झौता अनुसार म्याद सकिने अवस्थामा पुगे पनि पुलको भौतिक प्रगति ३० प्रतिशत मात्र छ । बर्सातका कारण गत असारदेखि रोकिएको पुल निर्माण सुरु गर्ने तयारीमा निर्माण व्यवसायी रहेको कार्यालयले जनाएको छ । इन्जिनियर चौधरीले १२० मिटर लामो पुलका लागि करिब तीन वटा पिल्लरको फाउन्डेसन निर्माणको काम भइसकेको छ ।