• १० कात्तिक २०८२, सोमबार

ज्यान जोखिममा हालेर नदी वारपार

blog

राप्ती नदी पार गर्न डुङ्गा चढ्ने तयारीमा स्थानीय । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, कात्तिक १० गते । बाँकेका तीन वटा गाउँपालिकाका स्थानीय बासिन्दा बर्सौंदेखि ज्यान जोखिममा राखेर डुङ्गामा राप्ती नदी वारपार गर्न बाध्य छन् ।  राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले अधिकांशले नदी वारपार गर्नुपर्ने हुन्छ । सीमापारि भारतीय बजार र सदरमुकाम नेपालगन्ज पुग्न छिटो हुने भएकाले पनि तीन पालिकाका स्थानीयले डुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । 

राप्तीसोनारी गाउँपालिका–७ का ७० वर्षीय दुर्गाप्रसाद पाण्डेले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि बर्सौंदेखि माग गर्दै आएकोमा आश्वासनबाहेक हालसम्म केही पनि नपाएको दुःखेसो गर्नुभयो । उहाँले बर्खाका बेला बाढीका कारण पटक पटक डुङ्गा दुर्घटना भई धेरै स्थानीयले ज्यान गुमाए पनि हालसम्म सरकारको ध्यान नगएकोमा चिन्ता प्रकट गर्नुभयो । 

पाण्डेका अनुसार पिप्रहवाघाटमा करिब चार दशकअघि धेरै जनाको ज्यान जाने गरी डुङ्गा दुर्घटना भएको थियो । उहाँले करिब एक सय जना सवार डुङ्गा दुर्घटनामा परेकोमा धेरै जनाको निधन तथा बेपत्ता भएको स्मरण गर्नुभयो । राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा तत्कालै पुल निर्माण प्रक्रिया अगाडि बढाउन स्थानीय बासिन्दाले सरकारलाई फेरि गुहारेका छन् ।  नरैनापुर गाउँपालिका–५ का सञ्जय दीक्षितले विगतमा विभिन्न राजनीतिक दलका नेता र मन्त्रीले आश्वासन मात्रै दिए तर अहिले देशमा भएको परिवर्तनका कारण स्थानीयमा पुल बन्ने आशा पलाएकाले फेरि मागलाई उठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “राप्ती नदीवारि बसाइ छ, नदीपारि खेतबारी छ । 

बर्खामा उर्लेर आउने राप्ती पार गर्न डुङ्गाबाहेक कुनै विकल्प छैन । त्यसैले ज्यान जोखिममा हालेर डुङ्गाबाट नदी वारपार गर्दै आएका छौँ ।” राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका धेरै बासिन्दाको खेत नदीपारि रहेको छ । स्थानीय अरुण यादवले राप्ती नदीपारि खेतबारी भएकाले पनि नदी पार गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले तटीय बस्तीका बासिन्दाको सुरक्षित यात्राप्रति सरकारले चासो नदिएको गुनासो गर्दै यस क्षेत्रका बासिन्दाले कहिलेसम्म यो दुःख पाइरहने हुन् केही भन्न नसकिने बताउनुभयो । नदीमा पिप्रहवा, सतीघाट, बालपूर्वासहित तीन वटा घाट छन् । जहाँ वारपार गर्न साना 

डुङ्गा राखिएका छन् । १० वर्षदेखि डुङ्गा चलाउँदै आउनुभएका माझी गुड्डु मल्लाहले नदी तर्दातर्दै तीव्र गतिमा उर्लेर आउने बाढीले डुङ्गा बगाउँदा धेरै पटक जीवन जोखिममा परेको स्मरण गर्नुभयो ।