• १० कात्तिक २०८२, सोमबार

छठ पर्वले गुलजार बजार

blog

महोत्तरीको बर्दिवास मेनचोक बजारमा किनमेल गर्नको देखिएको भीड । तस्बिरः अजय शाह

अजय शाह 
गौशला (महोत्तरी), कात्तिक १० गते ।
नेपालको सांस्कृतिक पहिचानसँगै आर्थिक गतिशीलता पनि चाडपर्वसँग गहिरो रूपमा जोडिएको छ । साउने सङ्क्रान्तिपछि सुरु हुने पर्वहरूको श्रृङ्खलाले विस्तारै बजारमा रौनकता ल्याउँछ । तीज, सोह्रश्राद्ध, नवरात्र, दसैँ, तिहार हुँदै अहिले छठ पर्वले महोत्तरीसहित देशभरका बजारहरू गुलजार बनेको छ ।

महोत्तरीको जलेश्वर, गौशाला, बर्दिवास, रामगोपालपुरलगायतका प्रमुख शहर बजारहरुमा यतिखेर किराना, लत्ताकपडा, गरगहना खरिद गर्ने ग्राहकहरुको भीड लागेको छ । होटल–रेस्टुरेन्ट, एयरलाइन्स, ट्राभल एजेन्सी र सार्वजनिक सवारीका सेवा क्षेत्र पनि व्यस्त छन् ।

अर्थशास्त्रीहरूका अनुसार नेपालको कुल उपभोगको करिब एकतिहाइ खर्च दसैँ, तिहार र छठ पर्वकै अवधिमा हुने गर्छ । लामो बिदा, घरपरिवारसँग भेटघाट र मनोरञ्जनका कारण यो समयमा मानिस खर्च गर्न हिचकिचाउँदैनन् । यसले अर्थतन्त्रमा तत्कालिक गतिशीलता ल्याउने डा. सुरेन्द्र लाभ बताउनुहुन्छ ।

अर्थशास्त्रका प्राध्यापक रामबाबु साहका अनुसार घरायसी खर्चको करिब एकतिहाइ रकम दसैँ, तिहार र छठ पर्वमा खर्च हुन्छ । साहका अनुसार व्यापारीहरूले यही अवधिलाई लक्षित गरी ग्राहकलाई आकर्षित गर्न छुट र उपहार योजनाहरू ल्याउने गर्छन् । दसैँ र तिहारपछि लगत्तै आउने छठ पर्वले बजारमा अझ बढी चहलपहल ल्याएको छ ।

अर्थशास्त्री जितेन्द्र मण्डलका अनुसार दसैँ, तिहार र छठका बेला बजारमा वस्तु र सेवाको कारोबार अत्यधिक हुन्छ । कर्मचारीहरूले दुई महिनाको तलब बराबर रकम खर्च गर्ने भएकाले बजारमा ठुलो रकम प्रवाह हुन्छ । सरकारी करिब पाँच लाख कर्मचारीलाई तलबका रूपमा १७ अर्ब ५० करोड रुपियाँ र निजी क्षेत्रका करिब ३२ लाख श्रमिकलाई ६६ अर्ब रुपियाँभन्दा बढी रकम प्रवाह हुने अनुमान छ । यसरी दसैँ–तिहार र छठ पर्वको अवधिमा करिब एक खर्ब रुपियाँभन्दा बढि बजारमा चलायमान हुने गर्दछ ।

मधेश उद्योग परिसंघका अध्यक्ष प्रमोद साह भन्नुहुन्छ, “दसैँमा सरकारी तथा निजी क्षेत्रका कर्मचारीले तलब र बोनस खर्च गर्दा दैनिक उपभोग्य वस्तुको माग बढ्छ, जसले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”

चाडपर्वले आन्तरिक पर्यटनलाई पनि प्रवद्र्धन गरेको छ । सहरी क्षेत्रमा बसोबास गर्ने हजारौं व्यक्ति आफ्नो गाउँ फर्किंदा यातायात, होटल, किराना र कृषि उत्पादनको व्यापारमा उल्लेखनीय वृद्धि हुने गरेको होटल तथा पर्यटन व्यवसायी हिरा गौतमले बताउनु हुन्छ ।

अर्थतन्त्रमा अर्को ठुलो टेवा भनेको विदेशबाट आउने रेमिट्यान्स हो । नेपाल राष्ट्र बैंकका अनुसार साउन–भदौ महिनामा मात्रै दुई खर्ब ६३ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको तुलनामा १५ प्रतिशत बढि हो । दसैँताका मात्र १०–१५ अर्ब रुपियाँसम्म रेमिट्यान्स आउने गरेको अनुमान छ । भारतमा कार्यरत नेपालीहरूले घर फर्किंदा ल्याउने रकम यसमा थपिँएको छैन, जसले वास्तविक रकम अझ ठुलो बनाउँछ ।

अर्थविद्हरूका अनुसार दसैँ, तिहार र छठ अघिका दुई–तीन हप्तामा मात्र वार्षिक कुल उपभोगको २० प्रतिशत जति कारोबार हुन्छ । अर्थशास्त्री डा. लाभका शब्दमा, “यो समयमा करिब पाँच अर्ब रुपियाँ बराबरको वस्तु र सेवाको कारोबार हुने गर्छ, जसले व्यापारीहरूलाई वर्षभरिका लागि नाफा कमाउने अवसर दिन्छ ।”

बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का भन्नुहुन्छ्, “दसैँ–तिहार र छठ पर्वको अवधिमा हुने व्यापार अरू १० महिनाको बराबर हुन्छ ।” छुट र विभिन्न आकर्षक अफरका कारण बजारमा रौनक झन बढेको उहाँको भनाइ छ ।

यति खेर जिल्लाका हरेक साना ठुला बजार लगायतका हाटहरुमा समेत खरिदकर्ताको भीड छ । सस्तो बजार र स्थानीय उत्पादनहरूको बिक्री बढ्दा राष्ट्रिय आर्थिक गतिविधिमा समेत सकारात्मक असर परेको देखिन्छ । अर्थशास्त्रीहरू बताउँछन्, “दसैँ, तिहार र छठ केवल धार्मिक–सांस्कृतिक पर्व होइनन्; यी चाडपर्वहरूले नेपाली अर्थतन्त्रलाई हरेक वर्ष चलायमान बनाउने बलियो आधार हुन् ।”