• १० कात्तिक २०८२, सोमबार

प्रदेश सभा बैठक स्थलबारेको अन्योल कायमै

blog

आन्दोलनबाट क्षति पुगेको कर्णाली प्रदेश सभा । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, कात्तिक १० गते । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट भएको कर्णाली प्रदेश सभा बैठक स्थल बारे अन्योल कायमै रहेको छ । आगामी माघ २१ गतेभित्र हिउँदे अधिवेशन बस्नुपर्ने वैधानिक व्यवस्था छ तर प्रदेश सभा बैठक स्थलको व्यवस्था नभएका कारण बैठक अनिश्चित भएको छ ।  

प्रदेश सभाको हिउँदे अधिवेशन हुने दिन नजिक आउँदै गर्दा बैठक स्थल कहाँ, कसरी बस्ने भन्ने बारे अहिलेसम्म प्रदेश सभामा सहभागी दलहरूबिच छलफलसमेत हुन सकेको छैन । अहिलेकै प्रदेश सभा भवनलाई मर्मत गर्न सकिने, नसकिने वा अन्य वैकल्पिक स्थानको छनोट बारे कुनै छलफल हुन नसकेको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताउनुभयो । उहाँले सबै काम शून्यबाट गर्नुपर्ने भएकाले आगामी बैठक सञ्चालन, स्थान बारे कुनै छलफल नभएको बताउनुभयो ।  

बैठक स्थलका बारेमा छलफलका लागि कात्तिक १२ गते छलफल कार्यक्रमको राखिएको छ, त्यहाँबाट आउने निष्कर्षका आधारमा मात्रै अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो । अहिले प्रदेश सभा बैठक मर्मतका लागि बजेट र समयको अभाव छ ।  उहाँले बैठक सञ्चालनका लागि न्यूनतम पूर्वाधार बनाउन कम्तीमा छ महिना वा एक वर्ष लाग्ने भन्दै यसका साथै सामान खरिद प्रक्रियामा पनि समय लाग्ने भएकाले वैकल्पिक स्थानको खोजी गरिने बताउनुभयो । 

यदि तोकिएको समयभित्र प्रदेश सभा मर्मत हुन सकेन भने बैठकका लागि मन्त्रालय तथा निर्देशनालयका भवन, जिल्ला समन्वय समितिको हल र सिटी हल वैकल्पिक स्थान हुन सक्ने जानकारी प्रदेश सभा सचिवालयका सचिव बुढाथोकीले दिनुभयो । यसैबिच प्रदेश सभा भवन, विभिन्न समितिका कार्यकक्ष जले पनि प्रदेश सभाको दुई वटा समितिले आफ्नो काम जारी राखेका छन् । सामाजिक विकास समिति र अर्थ तथा प्राकृतिक स्रोत समितिको बैठक बसेर काम सञ्चालन गरेको प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले बताउनुभयो । आगजनीका कारण समितिका कार्यकक्ष पनि जलेपछि अहिले आलोपालो गरेर बैठक बसेको छ । सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिको कार्यकक्ष आंशिक क्षति भएकाले त्यसलाई सामान्य सफाइ गरेर अन्य समितिको पनि बैठक आलोपालो गरेर बस्ने व्यवस्था मिलाइएको सूचना अधिकारी पौडेलले जनाउनुभयो । जेनजी आन्दोलनका व्रmममा प्रदेश सभामा करिब चार करोड बराबरको क्षति भएको छ ।