• १० कात्तिक २०८२, सोमबार

सडक मर्मतमा जुटे स्थानीय

blog

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक १० गते । पटक पटकको आग्रहपछि पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै वीरेन्द्रनगरका स्थानीय नागरिक आफैँ सडक मर्मतमा जुटेका छन् ।  वीरेन्द्रनगर नगरपालिका–३ को शुभकामना टोलका स्थानीयले आफैँले बजेटको व्यवस्थापन गरेर सडक मर्मत गरेका हुन् । वर्षाका कारण सडक बिग्रिँदा नागरिकलाई सास्ती हुँदै आएको थियो । पटक पटक ध्यानाकर्षण गराउँदा वडा तथा नगरपालिकाले बेवास्ता गरेका कारण स्थानीय सडक मर्मत गर्नका लागि आफैँ जुटेको स्थानीय टीकाराम पौडेलले बताउनुभयो । 

प्रदेश राजधानीकै सडक नबनेपछि नागरिकले रकम सङ्कलन गरेर सडक मर्मत गर्ने गरेको उहाँले बताउनुभयो । सडक अव्यवस्थित बनेपछि रकम सङ्कलन गरेर सडक मर्मत गरिएको उहाँको भनाइ छ । बजारसँग जोडिएको वडा भए पनि गुणस्तरीय सडक नहुँदा यात्रा गर्दा बाह्रैमास सास्ती खेप्नु परिरहेको स्थानीय बताउँछन् । स्थानीय सरकारले बिग्रेको सडक स्तरोन्नतिमा चासो नदेखाएपछि आफूहरू सडक मर्मतमा जुटेको स्थानीय पदमबहादुर रावलले बताउनुभयो । स्थानीयवासीबाट चन्दा सङ्कलन गरी जेसिबी मेसिन भाडामा लिएर एक किलोमिटर सडक मर्मत गरिएको हो ।

सडक मर्मतका लागि करिब एक लाख ३० हजार रुपियाँ सङ्कलन गरिएको छ । पर्याप्त रकम नभए पनि सडक छेउका डाँडा काट्ने र खाल्डाखुल्डी पुर्ने काम मात्रै गर्न सम्भव भएको जनाइएको छ । वीरेन्द्रनगर–३ का वडाध्यक्ष विनोदसिंह विष्टले सीमित स्रोत र साधन हुने वडाले सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा जेनजी आन्दोलनका कारण कुनै पनि काम भएका छैनन् ।