प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक १० गते । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–३ मा रहेको बहुमूल्य कायइनट खानीको संरक्षण नहुँदा दैनिक चोरी निकासी हुँदै आएको छ । साविकको भर्ता गाविसको लेख क्षेत्रमा रहेको कायनाइट संरक्षणका लागि निर्णय भए पनि अहिलेसम्म संरक्षण नहुँदा दैनिक चोरी गरी निकासी हुँदै आएको पाइन्छ ।
तत्कालीन जिल्ला विकास समितिदेखि २०७४ सालको स्थानीय सरकार र राजनीतिक दलले कायनाइट संरक्षण गर्ने भन्दै चुनावी नारा समेत बनाए । अझै २०७९ मा भएको अर्को स्थानीय निर्वाचनमा पनि यिनै नारा लागे तर भर्ताको कायनाइटको अवस्था फेरिएन बरु सरकारको योजना बुझेका तस्करहरुले रातारात कायनाइट निकासी गर्दै आए ।
शुक्रबार कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलसहितको एक टोली कायनाइट भएको क्षेत्रको स्थलगत अनुगमनमा पुगे ।
कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सामाजिक विकास कार्यालय कालीकोटका प्रमुख, शुभकालिका गाउँपालिकाका प्रथम अध्यक्ष, वडा नं ३ का वर्तमान अध्यक्ष, निवर्तमान अध्यक्ष, सरोकारवाला, समुदाय, पत्रकारलगायतको उपस्थितिमा उक्त क्षेत्र अनुगमन गरिएको थियो ।
यद्यपि, प्रशासन प्रमुख सुरक्षा निकायका प्रमुख र स्थानीय नेतासहितको टोली कायनाइट क्षेत्रमा पुग्दा समाजमा विभिन्न वहस सतहमा आएका छन् । स्थानीय छत्र रोका मगरले पटक पटकका निर्णय र सरकारको योजनाले संरक्षण गर्न नसकेको यो क्षेत्र अब सुरक्षा प्रमुखले गर्लान त ? भन्दै प्रश्न गर्नुभयो ।
पटक पटक हुने अनुगमनको प्रतिफल खासै छैन । विश्वका थोरै मुलुकमा पाइने कायनाइट नेपालको कालीकोटमा छ । यसको संरक्षण नहुँदा प्रायः चोरी भएर सकिँदैछ ।
कायनाइट क्षेत्रको अनुगमनको खास प्रगती के हो ? जिल्ला प्रशासन कार्यालय कालीकोटका सूचना अधिकारी जनकराज शर्मालाई गोरखापत्रले राखेको प्रश्नमा भन्नुभयो, ‘‘खासै अरु योजना केही थिएन, स्थानीय तहले पनि संराक्षणको प्रयास गरेको थियो, तर नसकेको हुनाले के गर्न सकिन्छ भनेर स्थानीयको सल्लाह लिन अन्तरक्रिया गरिएको छ ।’’
अघिल्लो स्थानीय सरकारले दुई जनालाई सुरक्षाका लागि राखेको थियो । अहिले त्यो खाली छ, उहाँले भन्नुभयो ।
पहिला नै निकासीको अनुमतिको पाएको एक जना ठेकेदारले अहिले पनि निकासी गरिरहेको देखिन्छ । अब केही दिनमा यस विषयमा निकासीको प्रक्रियाका बारेमा सरोकारवालाबिच छलफल हुने शर्माको भनाइ छ । ‘‘सबै कुरा त हामीलाई पनि थाह भएन, अब अनुमति पत्रको सबै बुझेर प्रक्रियाबारे छलफल हुन्छ ।’’ उहाँले जानकारी दिनुभयो ।
कायनाइट प्रायः नेपालका हिमाली क्षेत्रमा पाउनुका साथै भारतको झारखण्ड, कर्नाटक, अमेरिका, ब्राजिल, स्विजरल्याण्ड, रुस र केन्या आदी देशमा पाइने गरेको छ ।