काठमाडौँ, असार १९ गते । सुदूरपश्चिम नेपालमा प्रागैतिहासिक भूकम्पको अध्ययन सुरु गरिएको छ । खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले त्यस क्षेत्रमा कुनै पनि बखत ठूलो भूकम्प जानसक्ने अनुमानसाथ अध्ययन सुरु गरेको हो ।
केन्द्रका प्रमुख मोनिका झाले केन्द्रबाट प्राविधिक रूपमा गरिएको अध्ययनले त्यस क्षेत्रको जमिनमुनि लामो समयदेखि ऊर्जाशक्ति सञ्चित भए पनि हलचल नभएको जानकारी दिँदै थप प्रमाण सङ्कलन गर्न प्रागैतिहासिक अध्ययन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पको चक्र हुन्छ । कति वर्षको अन्तरालमा त्यो दोहोरिन्छ भन्ने थाहा पाउन पनि अध्ययन जरुरी छ ।”
भौगोलिक रूपमै भौतिक तथ्य सङ्कलन गरेर गरिने अध्ययन भएकाले अब त्यस क्षेत्रमा कहिलेसम्ममा भूकम्प जानसक्छ भन्ने अनुमान लगाउन सकिने उहाँले दाबी गर्नुभयो । केन्द्रले यसअघि गरेको सिस्मोमिटर र जीपीएस ट्र्याकिङले नेपालको सुदूरपश्चिममा करिब दुई सेन्टिमिटरसम्म पृथ्वीको प्लेट सरिसकेको देखाएको छ । तथापि त्यसको प्रतिक्रियास्वरूप त्यहाँ केन्द्रबिन्दु भएर अहिलेसम्म कुनै भूकम्प गएको छैन । लामो समयको ‘सेस्मिक ग्याप’ जति बढ्छ त्यति ठूलो भूकम्प आउने खतरा रहन्छ ।
अध्ययनको नेतृत्व गर्नुभएका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले सुदूरपश्चिमका पहाडमा पुराना भूकम्पको अवशेष भेटिएका छन् । त्यसैको नमुना सङ्कलन गर्न र हालको अवस्था पत्ता लगाउँदै तथ्य सङ्कलन गर्न टोली सुदूरपश्चिम पुगेको हो ।
सन् १५०५ को झिनो तथ्यअनुसार त्यो बेलामा सुदूरपश्चिम भेगमा ठूलो भूकम्प गएको थियो । त्यसयता भूकम्पका बारेमा त्यहाँ कुनै अध्ययन र तथ्य फेला परेको छैन । उहाँले भन्नुभयो, “५१६ वर्षको अन्तरालमा पनि अर्को भूकम्प नआउनु भविष्यका लागि ठूलो खतराको घण्टी हो । त्यही पहिल्याउने जमर्को अध्ययनले गर्नेछ ।”
नेपालको गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको क्षेत्रफलको चट्टानमुनि ठूलो भूकम्पीय शक्ति सञ्चित भएर बसेको विषयमा भूगर्भविद्हरूले सहमति जनाउँदै आएका छन् ।
जापानले तीन हजार वर्षको इतिहास अध्ययन गरेर भूकम्पीय जोखिम कम गराउने अभ्यास गरिरहेको छ तर नेपालको इतिहास करिब दुई सय वर्षको मात्र पाइन्छ । यसले भूकम्पको पूर्ण तथ्य बोल्दैन । यद्यपि पूर्वी र मध्य नेपालको विषयमा केही अध्ययन यसअघि भएको पाइएको छ । मध्य नेपालमा वि.सं. १८९० भदौ १२ गते, २०४५ भदौ ५ गते र २०७२ वैशाख १२ गते ठूला भूकम्प गएको इतिहास छ । पूर्वतर्फको भेगमा वि.सं. १२५५ साल र १९९० सालको माघ २ गते ठूलो भूकम्प गएको थियो । नेपालको इतिहासमा वि.सं. १२१८ ताका गएको भूकम्पको पहिलो रेकर्ड पाइन्छ ।
खानी तथा भूगर्भ विभागका अनुसार करिब चार करोड वर्षपहिले भारतीय र युरेसियन प्लेट एकआपसमा ठोक्किएर नेपालको हिमालय पर्वत बनेको पाइन्छ । सोही ठक्करबाट बनेका संसारकै सबैभन्दा अग्लो सगरमाथा र अन्य उच्च हिमशृङ्खला नेपालमा छन् । नेपालको सम्पूर्ण भूभागलाई समथर तराई, शिवालिक, लेसर हिमालय, हायर हिमालय र टेथिस हिमालय गरी पाँच भौगर्भिक क्षेत्रमा विभाजन गरिएको छ ।
कच्चा पहाडका रूपमा रहेका भूभाग भएकाले पनि नेपाल भूकम्पको उच्च जोखिम रहेको मानिन्छ । जमिनमुनि ऊर्जा सञ्चय भएपछि पृथ्वीका प्लेटहरू सर्दा हुने हलचलले नेपालको सतही भूभागमा भूकम्पको धक्का महसुस गराउने गरेको छ ।