• १३ साउन २०८१, आइतबार

त्रिशूली नदीले आमाछोरा बगायो

blog

नमराज सुवेदी

नुवाकोट,  असार १८ गते। नुवाकोटको विदुर नगरपालिका–३ का संगीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ। 

सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया संगीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिनुभयो। 

उनका अनुसार वडा नम्बर ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए। खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन्। नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ। 

हराइरहेका उनीहरूको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटसहित मातहतका प्रहरी एकाइ, सशस्त्र प्रहरी बल १९ नम्बर गुल्म नुवाकोट र जबरजङ्ग गण देवीघाटबाट खटिएका १०० भन्दा बढी सुरक्षाकर्मी एवं स्थानीयवासी खटिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो।