• १९ असोज २०८१, शनिबार

दमकमा विशिष्टीकृत बाल अस्पताल चलाइने

blog

दमक, असार १८ गते  । झापाको दमकमा दमक विशिष्टीकृत प्रादेशिक बाल अस्पताल सञ्चालन हुनेभएको छ । सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुने उक्त बाल अस्पतालका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाएको छ ।

दमक–७ स्थित रेडक्रस भवनमा सञ्चालन हुने बाल अस्पतालका लागि प्रदेश १ सरकारले तीन करोड रुपियाँ विनियोजन गरेको छ । ५० शैøयाको अस्पतालका लागि अहिले भएका संरचना र नयाँ संरचना बनाउनसमेत रेडक्रसले ३० वर्षका लागि निःशुल्क रूपमा उपलब्ध गराउने बताइन्छ ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बाल अस्पताल सञ्चालन गर्नेभएको हो । इन्स्टिच्युटका अध्यक्ष प्राडा भगवान् कोइरालाका अनुसार चाँडोभन्दा चाँडो अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू बनाउने काम भइरहेको छ । प्रदेश १ को नमुना बाल अस्पतालका रूपमा यो सञ्चालन हुने दाबी गरिँदै आएको छ ।

शुक्रबार डा. कोइरालासहितको टोलीले बाल अस्पताललाई चाँडो सञ्चालन गर्न सरोकारवालाहरूसँग छलफल एवं परामर्श पनि गरेको छ । यो समुदायको अस्पताल भएकाले समुदायको साथ र सहयोगले नै बन्ने हो, डा. कोइरालाले भन्नुभयो । तीनवटै तहको सरकारको सहयोग बेगर हामीअघि बढ्न सक्दैनौँ, उहाँको भनाइ छ ।

अस्पतालमा आकस्मिक सेवा, सघन उपचारलगायत बालबालिकाका सबै किसिमका रोगका उपचार गर्ने गरी विशेषज्ञ सेवाको व्यवस्थान हुने र सोहीअनुसारको भौतिक संरचना बन्ने भएपछि आफूहरूले रेडक्रसको भवन र जमिन उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकीले बताउनु भयो ।

अहिले बाल अस्पतालका लागि आवश्यक पर्ने उपकरण तथा स्वास्थ्य सामाग्रीहरू आउने क्रम जारी रहेकाले मङ्सिरभन्दा अगावै अस्पताल सञ्चालन हुने उहाँले जनाउनु भयो ।काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले देशका सातवटै प्रदेशमा प्रादेशिक बाल अस्पताल सञ्चालन गर्ने बताउँदै आएको छ ।