शेरबहादुर राई
ओखलढुङ्गा, असोज ३१ गते । कालोपत्रेको माग गर्दै उदयपुरका स्थानीयवासीले सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मी-कटारी सडक खण्ड बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध गरेका छन् । कटारी नगरपालिका-८ भर्मीकाका स्थानीयले धुलो र हिलोयुक्त सडकको स्थायी समाधान माग गर्दै शुक्रबार बिहानदेखि सडक ठप्प पारेका हुन् ।
सडक अवरुद्धका कारण घुर्मी हुँदै तराईतर्फ जाने तथा कटारी हुँदै ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ आउँदै गरेका सवारीसाधन रोकिएका छन् । आन्दोलनका संयोजक लिलबहादुर खत्रीका अनुसार वर्षौँदेखि धुलाम्मे र हिलो सडकका कारण स्थानीयको दैनिकी कष्टकर बनेको छ ।
खत्रिले भन्नुभयो, “अब सडक पिच नभएसम्म आन्दोलन रोकिँदैन, हामी हिलो र धुलोमा बाँच्न सक्दैनौं ।” स्थानीयको भनाइ अनुसार धुलोका कारण विद्यालय जाने विद्यार्थी, व्यापारी तथा सर्वसाधारण सबै प्रभावित छन् । लामो समयदेखि धुलोमा सास फेर्दा स्वास्थ्यमा समेत गम्भीर असर परेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
मालबाहक ट्रक, बस, जीपसहित करिब ६० भन्दा बढी सवारी विहानैदेखि रोकिएका छन् । “सडक बन्दबारे जानकारी नभएकाले बाटोमै रोकिँदा निकै समस्या भयो,” विराटनगरबाट सोलुखुम्बु जाँदै गरेका यात्रु हरि कट्टेलले गुनासो गर्नुभयो । कटारी नगरपालिकाले आन्दोलनरत स्थानीयहरूसँग छलफल गरी सडक पुनः सञ्चालन गराउने प्रयास गरिरहेको जनाएको छ । नगर प्रमुखको कार्यालयका अनुसार तत्काल समस्या समाधानका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने तयारी भइरहेको छ ।
आन्दोलनकारीले एम्बुलेन्स बाहेक अन्य साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न नदिएका कारण सिद्धिचरण राजमार्गमा यातायात सेवा पूर्णरूपमा ठप्प भएको प्रहरीले जनाएको छ ।