नागेन्द्रकुमार कर्ण
महोत्तरी, असोज ३१ गते । महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुवै पालिकाका ३०८ बाढी पीडित परिवारलाई राहत वितरण गरिएको हो ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा एकीकृत ग्रामीण विकास समाज बर्दिबास तथा दलित उत्थान समाज महोत्तरीको समन्वयमा एकडारा र सम्सी गाउँपालिकाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको हो । एकडारा गाउँपालिकामा २५५ घरधुरी तथा सम्सी गाउँपालिकामा ५३ घरधुरीलाई राहत वितरण गरिएको ग्रामीण विकास समाज बर्दिबासका फिल्ड अफिसर राजीवकुमार झाले जानकारी दिनुभयो ।
वडाले सिफारिस गरेका बाढी पीडितहरुलाई संस्थाका कर्मचारीहरुले जाँच पडताल गरेर वास्तविक बाढी पीडितहरुलाई मात्रै राहत वितरण गरिएको जनाइएको छ । बाढी पीडितहरुलाई सोना मनसुली चामल २५ किलो, दाल दुई किलो, खानेतेल दुई लिटर, खानेनुन एक प्याकेट, त्रिपाल दुई थान, म्याट्रेस दुई थान, कम्बल दुई थान, डोरी दुई थान, सोलार लाइटलगायतका सामग्रीहरु वितरण गरिएको छ ।
एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलको विशेष उपस्थिति रहेको राहत वितरण कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालबाट दिलीपकुमार यादव, योभेन्द्र चौधरी, विनोद थापा मगर, तारा दाहाल, एकीकृत ग्रामीण विकास समाज बर्दिबासबाट उमेश न्यौपाने, कुमार भण्डारी, ऋषि चौलागाई, दीपेश श्रेष्ठ, राजीवकुमार झा, दलित उत्थान समाज महोत्तरीबाट उत्तिमचन्द्र चौधरी, देवी निरौला, सौरभ सुमनलगायतका उपस्थिति थियो ।
राहत वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले बाढी र डुबानले पीडामा रहेका गाउँपालिकाका बासिन्दालाई राहत वितरण गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो । उहाँले बाढी र डुबान पीडितहरुलाई पालिकाबाट हरसम्भव सहयोग गरिने वाचा गर्नुभयो ।
एकडारा गाउँपालिका वडा ३ अजमरपट्टीका बाढीपीडित शिवजी मण्डलले तिहारको मुखमा आएर राहत दिएकोमा खुशी व्यक्त गर्नुहुँदै बाढी आएको दशदिन भइसक्दा समेत कसैले राहत दिन नआएको बताउनुभयो ।
असोज १८ गतेदेखि २० गतेसम्म तिन दिनसम्म लगातार परेको पानीको कारण महोत्तरी जिल्लाको विभिन्न ठाउँमा बाढी र डुबानको समस्या देखिएको थियो । सदरमुकाम जलेश्वरमा बाढी आएको साता दिनसम्म पानी जमेको कारण जलेश्वर नगरपालिकाले बिदासमेत दिनुपरेको थियो ।
जिल्लामा रातो, भव्सी, जंगहा, माढा, अंकुसी, बिगही लगायतका नदीहरु भरिभराउ भई जिल्लामा बाढी र डुबानको समस्या देखिएको थियो । यता केही दिन अगाडि सेभ द चिल्ड्रेनले रातो नदीको कारण बाढी पीडित बनेका जलेश्वर नगरपालिकाका १ र ८ नं वडाका ११२ परिवारलाई राहत वितरण गरेको थियो ।
जिल्लामा बाढी र डुबानबाट महोत्तरीका जलेश्वर नगरपालिकासहित बर्दिबास, औरही, भंगाहा सीतापुर, बलवा, महोत्तरी, रामगोपालपुर, मटिहानी र सम्सीका २२८ परिवारका ८२६ जना विस्थापित थिए भने बाढीमा डुबेर जलेश्वर ६ का एक ११ वर्षीय बालकको मृत्यु भएको थियो ।