• १ कात्तिक २०८२, शनिबार

सीमावर्ती क्षेत्र भारतमा नेपालीको बेवारिसे शव फेला

blog

मृतक युवकको शव ।

यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), असोज ३१ गते ।
बिहीबार दिउँसो नेपालको सीमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ । भारतको बहराईच जिल्ला मोतिपुर थानाअन्तर्गत बलैगाउँमा भेटिएको शव बर्दिया बाँसगढी नगरपालिका– ५ रामपुर बस्ने २० वर्षीय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ ।

परिवारका अनुसार गत मङ्गलबार धनगढी जान भनी घरबाट हिँडेका थिए । बिहीबार नेपाली मूलको जस्तो देखिने युवाको शव नेपाल भारत सीमावर्ती क्षेत्रमा फेला परेको खबर फैलिएको थियो । घटनास्थलको अवस्था हेर्दा चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर मल्लले बताउनुभयो ।

युवक कसरी  सो स्थानमा पुगे र कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पोष्टमार्टमका लागि भारतको बहराइच लगेको छ । पोष्टमार्टमपश्चात् युवकको शव आफन्तको जिम्मा लगाइनेछ । युवकको परिवारका सदस्यहरू बिहीबार नै बहराइच पुगेका छन् ।