• ३१ असोज २०८२, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

blog

लमजुङको सुन्दरबजार–९ भोटेओडारस्थित सिरसिरे डाँडा । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, असोज ३१ गते ।
वरिपरि सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले सिरसिरे डाँडाको मनमोहक बढाएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित सिरसिरे डाँडा आजभोलि आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा उदाउँदै गएको छ । प्राकृतिक सुन्दरता, मनमोहक दृश्य र गर्मी मौसममा बहने सिरसिरे हावाले यस स्थानलाई आराम र ताजगी खोज्नेहरूका लागि स्वर्गसरह बनाएको छ । नजिकैको ठाउँमै शान्त वातावरण र रमणीय दृष्य अवलोकन गर्न चाहनेहरूका लागि सिरसिरे डाँडा अब छुटाउन नहुने स्थल बन्न थालेको छ ।

सिरसिरे डाँडाबाट भोटेओडारका फूलबारी क्षेत्रका बस्ती, मर्स्याङ्दी नदीको गहिरो खोंच, पहाडी हरियाली र बिहानको स्वच्छ हिमशृङ्खला नजिकबाट हेरेझैं देखिन्छ । साँझ पर्नु अघि पश्चिमतर्फ ढल्किँदै जाने सुनौलो घामको दृश्य र चाँदनी रातमा देखिने बजारको दृश्य कैद गर्न त्यहाँ पुग्नेहरूद्वारा सामाजिक सञ्जाल भरिभराउ हुन्छ । मोटरसाइकल र अटो सजिलै पुग्ने भएका कारण, बिदाको समयमा यहाँ बालबच्चासहित रमाउन आउनेको घुइँचो लागेको स्थानीयहरु बताउछन् ।

आन्तरिक पर्यटन प्रवर्धनका लागि स्थानीय युवा क्लव र वडाले सिरसिरे डाँडामा लिङ्गे पिङ, राष्ट्रिय झण्डा, घुम्ती बस्ने ठाउँ लगायतका संरचना निर्माण गरिसकेका छन् । वडा कार्यालयले झण्डा राख्ने स्थान तथा वरपरका संरचनामा सुधार गरेको छ । आगामी दिनमा विश्राम कुटी, फोटोपोइन्ट, भ्यू–टावर निर्माण गर्ने योजना अघि बढेको वडा अध्यक्ष मनराज गुरुङले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका–९ सिउँडिबार हुँदै करिब आधा घण्टाको उकालो पैदल यात्राले यस स्थानसम्म पुग्न सकिन्छ । त्यस्तै सुन्दरबजारको पैरे हुँदै मोटरसाइकल र अटोमार्फत सहजै पुग्न मिल्ने सडक निर्माण भएपछि यहाँ आउनेको सङ्ख्या झन् बढेको छ । सिरसिरे डाँडाबाट चण्डी मन्दिरसम्म जाने पदमार्गले यो ठाउँलाई धार्मिक पर्यटनसँग पनि जोडेको छ ।

घरेलु पर्यटकहरू हप्ताको बिदामा परिवार र साथीभाइसँग आराम, फोटोभिडियो, टिकटक बनाउन र पिकनिकका लागि यहाँ आउने गरेका छन् । प्राकृतिक दृश्यसँगै खाजा र चियापसल, स्थानीय परिकार, हस्तकला बिक्री जस्ता व्यवसाय सुरू गर्ने सम्भावनाले स्थानीयलाई उत्साहित बनाएको छ । उचित व्यवस्थापन र प्रवर्धन गर्न सकेमा यसलाई सिरसिरे डाँडा भ्यू–प्वाइन्टको रूपमा लमजुङको आन्तरिक पर्यटन नक्सामा स्थापित गर्न सकिने स्थानीयहरूले विश्वास लिएका छन् ।