काठमाडौँ, असोज ३१ गते । भारतीय र नेपाली चलचित्रकर्मीको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘मोनालिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोको संयुक्त ब्यानरमा बन्ने यो चलचित्र नेपालमै महँगो बजेटमा निर्माण हुने बताइएको छ ।
हिन्दी र नेपाली दुवै भाषामा निर्माण हुने चलचित्रमा साङ्गीतिक पक्ष पनि दुवै भाषामा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र २०२६ मा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने हुनुभएको छ ।
थिम क्यारेक्टर पोस्टरले चलचित्रका मुख्य भूमिकालाई चित्रण गरेको छ । पोस्टरबाटै चलचित्रमा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने सङ्केत देखिएको छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषय प्रस्तुत गर्ने छ ।