• १९ असोज २०८१, शनिबार

पाका पुस्ताको अनुभव

blog

घर परिवार, समाजको नेतृत्व सम्हाल्ने जिम्मा ज्येष्ठ व्यक्तिलाई दिने चलन पुरानै हो । घर परिवार समाजमा अनुशासन कायम गर्न, सुरक्षा प्रदान गर्न, न्यायोचित वितरण प्रणालीमा विवेकपूर्ण निर्णय गर्न सक्ने सीप क्षमता र अनुभवको आधारमा नाइके (मूली) छान्ने अभ्यास विगतमा गरिन्थ्यो । समय परिवर्तन भए पनि समाजमा ज्येष्ठ नागरिकको भूमिका कुनै न कुनै रूपमा रहेको देखिन्छ । 

पाका मानिसको व्यवस्थापन गर्न राज्यले दीर्घकालीन सोचका साथ योजना बनाएर काम गर्न रत्तिभर विलम्ब गर्नु हुँदैन । मानिसको सरदर आयु निर्धारण गर्ने क्रममा कतिपय मुलुकले १९६० को दशकभित्र ३५÷४० लाई आधार मानेका तथ्यहरू पाइन्छन्‌ । यो आधार उमेर बढ्दै जाने क्रममा अहिले ७० वर्ष वा सो भन्दामाथि पुगेका आँकडाहरू छन्‌ । आयुवृद्धि हुनका लागि अवलम्बन गरिएका उपायहरूमध्ये खानपान, लवाइ, हिँडाइ, स्वास्थ्य दिनचर्या, उपचारप्रतिको सचेतना, हेरचाह र बढ्दो उमेरसँगै शारीरिक क्रियाशीलतालाई ध्यान दिने वातावरण सिर्जना हुनुलाई महìवपूर्ण पक्ष मानिन्छ । 

ज्येष्ठ नागरिकहरूको उमेरगत चापलाई व्यवस्थित गर्दै लैजान वातावरणीय प्रभाव, नयाँ नयाँ रोगको बढ्दो लहर, वातावरणीय प्रदूषणबाट सुरक्षित बनाउनु ज्येष्ठ नागरिकप्रतिको सम्मान र कर्तव्य हुनेछ । वृद्ध उमेरका व्यक्तिलाई उत्पादनशील कार्यप्रति क्रियाशील गराउँदै सक्रिय जीवन बाँच्नका लागि उच्च मनोबलका साथ आत्मविश्वास जगाई दृढ इच्छाशक्ति वृद्धि गराउनेतर्फ राज्य, नागरिक समाज, परिवार र व्यक्ति स्वयं ‌लागिपर्ने हो भने कुनै पनि राज्यले बोझको अर्थमा लिनुपर्ने अवस्था आउँदैन । यसका लागि ज्येष्ठ नागरिकहरूको बढ्दो सङ्ख्यात्मक चापलाई दृष्टिगत गरी अवकाश (निवृत्त) पछिको दिनचर्यालाई क्रियाशील बनाई राख्न सिर्जनशील आम्दानी हुने बाटाहरू सँगसँगै स्वास्थ्य हेरचाहमा बढी ध्यान दिन जरुरी हुन्छ ।

दिनानुदिन बढ्दै जाने वृद्धको जनसङ्ख्याको चापलाई व्यवस्थापन गर्न सानो सानो समूहमा एकीकृत गर्दै आत्मसन्तुष्टि, आत्मबल र आत्मविश्वास बढाउने वातावरण निर्माण गर्दै जान सकियो भने मात्र पनि समस्या समाधानमा सहज हुन सक्छ । आफूले मन पराएको कार्य गर्न पाउँदा, मनका कुरा निसङ्कोच व्यक्त गर्न र मनोरञ्जनात्मक वातावरणमा रम्न पाएर पनि उत्साह उमङ्ग र क्रियाशीलतामा बढोत्तरी हुँदै जान्छ ।

यस मामिलामा राज्यले प्रत्येक ज्येष्ठ नागरिकलाई वृद्धावस्थामा आइपर्ने आर्थिक अभाव, घरेलु तथा सामाजिक एकाङ्कीपना हटाउन र स्वास्थ्य सेवाप्रदान गर्नमा प्रभावकारी नीति अवलम्बन गर्न आवश्यक हुन्छ । ज्येष्ठ नागरिकहरू संरक्षित र खुला पुस्तकालय पनि हुन् । पाको उमेरमा निवृत्त भएको यस जमातलाई राज्यले भरपुर उपयोग गर्न सके देशको आधारभूत आवश्यकताको पहिचाहन, जनचाहना, विकासका विविध पक्षको धरातलीय यथार्थबाट सकारात्मक परिणाम प्राप्त गर्न सहयोग पुग्छ । पहुँच, स्वास्थ्य, शारीरिक, मानसिक, आर्थिक एवं पारिवारिक अवस्था र वातावरणको आधारमा ज्येष्ठ नागरिकहरूलाई तीन समूहमा राखेर हेर्न सकिन्छ । 

सक्षम ज्येष्ठ नागरिक 

यो समूह नेपाल सरकारको निजामती, परराष्ट्र, वैदेशिक सेवा, न्यायिक, सुरक्षा निकाय, शिक्षण, किसान, कर्मकाण्ड, ज्योतिष वा कुनै पनि सरकारी÷गैरसरकारी वा स्वतन्त्र पेसामा आवद्ध भई सेवानिवृत्त हुने गर्दछन् । जीवनको उर्वर कालखण्डमा विभिन्न क्षेत्र समूह सञ्चालन गरेको यो वर्गभित्र विद्वत्, अनुभवी, नेतृत्व क्षमता, कुशल अभिभावकत्व ग्रहण गर्न सक्ने सीपमा निपुण लायक व्यक्तिहरूको जमात‌ मानिन्छ । 

कार्ययोजना निर्माण, कार्यान्वयन, प्रस्तुतीकरण, सङ्गठन निर्माण, विस्तार परिचालन गर्दै निवृत्त भइसकेको यो समूहबाट राज्यले प्रशस्त लाभ लिन सक्छ । सल्लाहकारको रूपमा, योजनाकार र विषयविज्ञको रूपमा‌ लामो समयसम्म सुझाव सल्लाह र सहयोग गर्न सक्ने क्षमता यो वर्गले राख्दछ । यस्तो समूह ६० वर्ष माथिका हुन्छन् । यिनीहरूका लागि स्थापना गरिने ज्येष्ठ नागरिक संस्थाहरू दिवा सेवा केन्द्र, चिन्तन चौतारी, विश्रामस्थल, ज्येष्ठ नागरिक ग्राम वा वैचारिक भावना साटासाट गर्ने साझा थलोको रूपमा विकसित गरिनुपर्छ । आश्रयस्थल वृद्धाश्रमको रूपमा होइन । 

असहाय ज्येष्ठ नागरिक 

सहज जीवनयापन गर्ने कुनै आधार नभएका, स्रोत साधनविहीन, हेरचाह स्याहारसुसार गर्ने आफन्त नभएका, अपहेलित, उपेक्षित, सहाराविहीनहरू असहाय ज्येष्ठ नागरिक समूहमा पर्दछन्‌ । शारीरिक, मानसिक अवस्था सामान्य हुँदाहुँदै पनि फिरन्ते जीवनयापन गर्न रुचाउने, स्वच्छन्दता मन पराउने, सामाजिक मर्यादालाई बेवास्ता गर्ने स्वभाव भएकाहरू पनि प्रशस्त पाइन्छन्‌ । यस्ता बेसहारालाई राज्यले नै नागरिक सहभागितामा उचित संरक्षण र व्यवस्थापनको प्रबन्ध मिलाउनुपर्ने हुन्छ । यस्तो प्रबन्धका लागि मानव सेवा आश्रम, नागरिक सुधार गृह, हेरचाह केन्द्र, सेवा समाज आदि कुनै पनि नामबाट सञ्चालन गर्न सकिन्छ । सरकारी स्वामित्व, गैरसरकारी संस्थाको माध्यमबाट भए पनि असहाय वर्गमा पर्ने ज्येष्ठ नागरिकहरूले समाजमा उचित तवरले बाच्न, खानलाउन, बस्न र औषधि उपचारको सेवा लिन पाउने वातावरण बनाउनुपर्छ । 

उनीहरूमा अन्तरनिहित योग्यता, ज्ञान, सीप, अनुभवको भरपुर उपयोग गर्न सक्नु पर्दछ । यस्ता खाले ज्येष्ठ नागरिकहरूका लागि सञ्चालन गरिएका संस्थाहरू वृद्धाश्रमको रूपमा नभएर सेवा केन्द्रको अवधारणामा आधारित हुनुपर्छ । बिर्सने रोग (अल्जाइमर), मानसिक चिन्ता, निराशा (डिप्रेसन) जस्ता रोगबाट पीडितहरूलाई सुधार केन्द्र वा सुधारगृहको नामबाट सञ्चालित संस्थाहरूमा एकै साथ समेटेर सुधारको बाटोमा लान सकिन्छ ।

अशक्त ज्येष्ठ नागरिक

पूर्ण वा आंशिक शारीरिक कमजोरी (अपाङ्गता) ले गर्दा कुनै पनि गतिविधि गर्न नसक्ने अशक्त वा मानसिक सन्तुलन गुमाइसकेका ज्येष्ठ नागरिकहरू यस समूहअन्तर्गत पर्दछन्‌ । यस्तो समूहलाई बाचुञ्जेल माया, ममता र भरपर्दो सहाराको जरुरत पर्दछ । पुनस्र्थापना केन्द्र, वृद्धाश्रम नै यसको प्रभावकारी विकल्प हुन सक्छ ।

अर्काको साथ सहयोग मद्दत चाहिने उमेरमा वृद्धहरू बेसहारा, तिरस्कृत र अपहेलित हुँदै जाने स्थिति देखा पर्न थालेको छ । संयुक्त परिवार प्रणालीमा आएको विखण्डन, पश्चिमा पारिवारिक संरचनाको देखासिकी, जिम्मेवारी वहन गर्न सक्ने क्षमतामा आएको ह्रास र विचलन, कामको खोजी गर्ने बहानामा वृद्धलाई घरमा छाडेर जाने प्रवृत्ति यस क्षेत्रका मुख्य समस्या हुन् । पूर्वजहरूले पालना गर्दै आएका सामाजिक मान्यताहरू, धर्म संस्कृति, संस्कार, चालचलन, त्यसको स्वरूप र चरित्र भनेको पुस्तान्तरण हुँदै जाने अनुकरणीय विषयहरू हुन्‌ । यसका जानकार हाम्रा अग्रज ज्येष्ठ नागरिकहरू हुन्‌ । 

Author

मधुसुदन ओझा