• ३० असोज २०८२, बिहिबार

फुटबल टोली स्वदेश फर्कियो

blog

नेपाली राष्ट्रिय फुटबल टोली । तस्बिर : एन्फा

काठमाडौँ, असोज ३० गते । भियतनाममा सम्पन्न एएफसी एसियन कप छनोट खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन विमान स्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरे । भियतनामसँग नेपालले उसैको मैदानमा खेलेको ‘होम म्याच’ र ‘अवे म्याच’ दुवैमा हार खेपेको थियो ।

भियतनामसँग पराजित भएपछि नेपालको एसिया कप खेल्ने सपना सकिएको छ । मङ्गलबार राति भएको ‘होम म्याच’ मा नेपाल भियतनामसँग १–० गोलले पराजित भएको थियो । यसअघि गत बिहीबार खेलिएको पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ गोलले पराजित भएको थियो । 

भियतनामविरुद्ध नेपालको दोस्रो लेग नेपालमै हुनुपर्ने थियो । तर काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले ‘होम म्याच’ पनि भियतनामकै मैदानमा खेलेको थियो । 

छनोटको समूह ‘एफ’ मा रहेको नेपालले चार खेलमा लगातार हार खेपेको छ । यसअघि नेपाल पहिलो खेलमा लाओससँग २–१ ले र मलेसियासँग २–० ले हारेको थियो । 

जितसँगै भियतनाम चार खेलबाट नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ । मलेसिया १२ अङ्कसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लाओसको तीन अङ्क छ भने नेपाल अङ्कविहीन छ ।  समूहको शीर्ष टोली सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुने छ ।