काठमाडौँ, असोज ३० गते । महिला तथा बेचबिखन बिखनविरुद्ध सहकर्मी समूह-नेपाल (एटविन)ले मानव बेचबिखन विरुद्धका अभियानलाई निरन्तर अगाडि बढाउनु पर्नेमा जोड दिएको छ ।
एटविनको २२ औं वार्षिक साधारणसभा र ११ औं अधिवेशन तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा सहभागी वक्ताले एटविनको सो लक्ष्यलाई निरन्तर अगाडि बढाउन आग्रह गरिएको हो ।
सो अवसरमा एटविनका सचिव हीरा दाहालले संस्थाका विविध कार्यक्रम, गतिविधी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै संस्थाले मानव बेचबिखनबाट प्रभावितको उद्धार, स्वदेश फिर्ताका कार्यक्रम, प्रभावितको न्यायिक पुहँचका लागि गरिएका पहल, प्रभावितलाई समाजमा पुनः स्थापनका लागि गरिएको विविध गतिविधीबारे प्रष्ट पार्नु भएको थियो ।
उहाँले प्रभावितसँग काम गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतका सरोकारवाला सङ्घ संस्थासँग समन्वय गरी राज्यलाई नीतिगत सवालमा सघाउँदै संस्थाले लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो । त्यसै गरी संस्थाका कोषाध्यक्ष सोनी पियाले संस्थाको आर्थिक गतिविधीबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष तारा भण्डारीले संस्थामा आबद्ध ४५ वटा सङ्घ संस्था र सरकारी तथा गैरसरकारी सरोकारवाला व्यक्ति, समूह सबैसँगको सहकार्यले एटविनले आफ्नो निर्धारीत काम अगाडि बढाउँदै आएको र त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका पूर्व अध्यक्ष भगवती नेपालले एटविन मानव बेचबिखन विरुद्धको अभियान हो, अभियान, परियोजना हुँदा वा नहुँदा पनि निरन्तर चल्ने अनुभव साट्दै आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी विजय पौडेलले वि.स.२०७९ मा प्रकाशित मानव बेचबिखनका समाचारको अध्ययन गर्दै हरेक वर्ष पाँच वर्षको समीक्षासहित मानव बेचबिखनका घटनाका तथ्याङ्कको अभिलेख राखेर एटविनले यस्ता घटनाबारे अध्ययन गर्न चाहनेका लागि मञ्च दिँदै आएको बताउनुभयो ।
उहाँले हाल एनजिओ, आइएन जिओको कामप्रति प्रश्न उठिरहेकोले यस्ता संस्थाले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको कर र विभिन्न क्षेत्रको समृद्धिका लागि पुर्याएको योगदानबारे तथ्यसहित प्रस्तुत हुने दिन आएको बताउनुभयो । बालबालिका शान्ति क्षेत्रका राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलले एटविनले बालबालिका र महिलाका क्षेत्रमा गरेका सकारात्मक कामले पुर्याएको योगदान प्रसंनीय रहेको बताउनुभयो ।
सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन विरुद्धको महाशाखामा रहँदा यस अभियानलाई सफल पार्न सहयोग पुर्याउनुभएका अवकास प्राप्त पूर्व कर्मचारी मीना पौडेल, एटविनका सल्लाहकार वरिष्ठ अधिवक्ता विष्णुमाया भुषाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।