• ३० असोज २०८२, बिहिबार

सुधारिएको कृषि प्रणालीतर्फ अग्रसर हुँदै बटेश्वरका किसान

blog

धनुषास्थित बटेश्वर गाउँपालिकाका किसानहरू । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असोज ३० गते । धनुषाको बटेश्वर गाउँपालिकाका किसानहरू अहिले सुधारिएको खेती प्रणालीतर्फ अग्रसर हुन थालेका छन् । बटेश्वरका गणेश धानबाली उत्पादन कृषक पाठशालामा आबद्ध किसानहरूले परम्परागत तरिका त्यागी आधुनिक र वैज्ञानिक विधिबाट खेती गर्न थालेका हुन् ।

बटेश्वर गाउँपालिका–२, धुमासनका २५ जना किसान, जसमा २० महिला र ५ पुरुष छन् । सामुहिक कृषि पाठशालाबाट सीप र ज्ञान हासिल गर्दै आफ्नै खेतमा प्रयोगमा ल्याउन थालेका छन् । उनीहरूले धानबाली उत्पादनमा सुधारिएको विधि अपनाएर उत्पादनमा वृद्धि हुने विश्वास लिएका छन् ।

कृषक पाठशालाकी अध्यक्ष संजिला महतोका अनुसार विगतमा पुरानो तरिकाबाट खेती गर्दा श्रम र लगानी धेरै लाग्ने तर उत्पादन घट्ने समस्या थियो । “कृषक पाठशालाबाट नयाँ तरिका सिकेपछि अहिले हामीले सुधारिएको बिउ, जैविक मल र समयमै निखार्ने प्रविधि अपनाएका छौं,” महतोले भन्नुभयो, “यसले किसानहरूलाई उत्पादन र आम्दानी दुवै बढ्ने आशा दिएका छौं ।”

त्यस्तै, समूहकी सदस्य शिवकुमारी कापरले पनि पाठशालाबाट आफूहरूमा ठुलो परिवर्तन आएको बताउनुभयो । “पहिले धानबालीमा रोग लाग्दा के गर्ने थाहा थिएन, अहिले त रोग नियन्त्रण र माटोको हेरचाह गर्न सक्ने भएका छौं,” कापरले भन्नुभयो ।

अर्की सदस्य दुलारीदेवी कापरले भने सामूहिक सिकाइका कारण महिलामा कृषिप्रतिको उत्साह बढेको बताउनुभयो । “घरभित्र सीमित रहेका महिला अहिले खेतमा सक्रिय भएका छन्, आत्मनिर्भर बन्ने बाटो खुलेको छ,” उहाँले भन्नुभयो ।

उक्त कार्यक्रम नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको उप–आयोजना क्लस्टर एकाइ धनुषाद्वारा सञ्चालित र फुड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) को सहयोगमा सञ्चालन गरिएको हो ।

उक्त आयोजना अन्तर्गत बटेश्वर गाउँपालिकामा हाल ४६ वटा समूह गठन गरी किसानहरूलाई आधुनिक सीप, बिउ, प्रविधि र बजार पहुँचबारे कृषि तथा पशु तालिम दिइँदै आएको छ । स्थानीय कृषि प्राविधिकका अनुसार सुधारिएको खेती प्रणाली अपनाउने किसानको सङ्ख्या बढ्दै गएको छ, जसले गाउँपालिकाको समग्र कृषि उत्पादनमा सकारात्मक प्रभाव पारेको छ ।